काठमाडौं- त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर) र रजिष्ट्रार पदमा क्रमशः प्रा.डा. अञ्जना महर्जन सिंह र डा. रविन्द्र शिवाकोटी नियुक्त भएसँगै बुधबार पदभार ग्रहण गरेका छन्।
त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १९ को उपदफा (१) र दफा २० को उपदफा (१) बमोजिम प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र शाहको २०८३ भदौ १५ गतेको निर्णयअनुसार प्रा.डा. सिंहलाई शिक्षाध्यक्ष र डा. शिवाकोटीलाई रजिष्ट्रार नियुक्त गरिएको थियाे।
नवनियुक्त शिक्षाध्यक्ष प्रा.डा. अञ्जना महर्जन सिंह त्रिभुवन विश्वविद्यालयको माइक्रोबायोलोजी केन्द्रीय विभागमा प्राध्यापनरत थिइन्। त्यस्तै, नवनियुक्त रजिष्ट्रार डा. रविन्द्र शिवाकोटी शिक्षाशास्त्र संकायअन्तर्गतको ग्राजुएट स्कूल अफ एजुकेसनका निर्देशकका रूपमा जिम्मेवारीमा थिए।
नवनियुक्त दुवै पदाधिकारीले २०८३ भदौ १७ गते कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा आ-आफ्नो कार्यालयमा उपस्थित भई पदभार ग्रहण गरेका छन्।प्रा.डा. सिंहले शिक्षाध्यक्षको कार्यालयमा र डा. शिवाकोटीले रजिष्ट्रारको कार्यालयमा पदभार ग्रहण गरेका हुन्।
त्रिभुवन विश्वविद्यालयमा शिक्षाध्यक्ष र रजिष्ट्रार विश्वविद्यालयका महत्वपूर्ण कार्यकारी पद हुन्। शिक्षाध्यक्षले शैक्षिक गतिविधि, प्राज्ञिक कार्यक्रम तथा अध्ययन–अध्यापनसँग सम्बन्धित कार्यको नेतृत्व गर्छन् भने रजिष्ट्रारले विश्वविद्यालयको प्रशासनिक तथा आर्थिक व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्छन्।
नयाँ नेतृत्वसँगै त्रिभुवन विश्वविद्यालयका शैक्षिक, प्रशासनिक तथा व्यवस्थापकीय कामलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। विश्वविद्यालयमा लामो समयदेखि देखिएका शैक्षिक तथा प्रशासनिक चुनौती समाधान गर्दै गुणस्तरीय उच्च शिक्षा र अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने जिम्मेवारी नवनियुक्त पदाधिकारीमाथि रहेको छ।





