काठमाडौं- शिक्षा तथा खेलकुद मन्त्रालयले पछिल्लो समय आएको विपद्का कारण शिक्षा क्षेत्रमा परेको प्रभाव, प्रभावित विद्यालय तथा विद्यार्थीको पुनःस्थापना र आगामी प्राथमिकताका विषयमा विकास साझेदारहरूसँग छलफल गरेको छ।
माननीय शिक्षा तथा खेलकुद मन्त्रीको उपस्थितिमा सम्पन्न छलफलमा विपद्का कारण प्रभावित विद्यालयको अवस्था, विद्यार्थीको पठनपाठनमा परेको असर, विद्यालय तथा शैक्षिक पूर्वाधारको पुनःस्थापना र पुनर्निर्माणका लागि आवश्यक सहयोगलगायतका विषयमा छलफल गरिएको हो।
बैठकमा विपद्पछि विद्यालय सञ्चालनलाई सहज बनाउने, प्रभावित विद्यार्थीलाई नियमित पठनपाठनमा फर्काउने तथा उनीहरूको शैक्षिक निरन्तरताका लागि आवश्यक व्यवस्था गर्ने विषयमा विशेष जोड दिइएको थियो। साथै, क्षतिग्रस्त विद्यालय भवन, कक्षाकोठा, शौचालय, खानेपानी तथा अन्य शैक्षिक पूर्वाधारको पुनःस्थापना र पुनर्निर्माणका लागि आवश्यक स्रोत तथा सहयोग परिचालन गर्ने विषयमा पनि छलफल भएको थियो।
मन्त्रालयका अनुसार विपद्का कारण शिक्षा क्षेत्रमा पुगेको क्षतिको प्रभावकारी मूल्यांकन गरी प्राथमिकताका आधारमा पुनःस्थापना तथा पुनर्निर्माणको काम अघि बढाउन आवश्यक छ। यसका लागि सरकार, विकास साझेदार, स्थानीय तह तथा सम्बन्धित सरोकारवालाबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा बैठकमा जोड दिइएको थियो।
छलफलमा प्रभावित विद्यालय तथा विद्यार्थीका तत्कालीन आवश्यकता पूरा गर्ने, आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने, विद्यालयको सुरक्षित वातावरण सुनिश्चित गर्ने तथा दीर्घकालीन रूपमा विपद् जोखिम न्यूनीकरणलाई शिक्षा प्रणालीसँग जोड्ने विषयमा समेत छलफल भएको बताइएको छ।

विकास साझेदारहरूबाट शिक्षा क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणमा गर्न सकिने सहयोग, स्रोत परिचालन र आगामी कार्यक्रमका विषयमा समेत सुझाव तथा प्रतिबद्धता प्राप्त भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले पछिल्लो विपद्बाट प्रभावित शिक्षा क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन तत्कालीन राहत तथा पुनःस्थापनासँगै दीर्घकालीन पुनर्निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाउने जनाएको छ।
विपद्का कारण विद्यालय भवन तथा शैक्षिक संरचनामा क्षति पुगेका क्षेत्रको अवस्था पहिचान गरी आवश्यकताका आधारमा पुनःस्थापना र पुनर्निर्माणका कार्यक्रम सञ्चालन गर्ने तथा कुनै पनि विद्यार्थीको पढाइ प्रभावित नहुने गरी शैक्षिक गतिविधि निरन्तरता दिने मन्त्रालयको प्राथमिकता रहेको छ।
