काठमाडौँ - नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक तत्काल अघि बढाउन सरकारलाई आग्रह गर्दै आफूहरूका माग सम्बोधनमा ढिलाइ गरिए अघिल्लोभन्दा ठूलो र कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।
महासंघका राष्ट्रिय अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जारी गरेको सन्देशमा विद्यालय, विद्यार्थी तथा शिक्षक–कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्नेमा जोड दिइएको छ। यसअघि विधेयकका विषयमा पटक–पटक सहमति भए पनि ऐन जारी हुन नसकेको भन्दै महासंघले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएको हो।
महासंघले विगतमा २०७५, २०७८ र २०८० सालमा समेत ठूला आन्दोलन गरेको स्मरण गराउँदै पछिल्लो आन्दोलन नेपालको इतिहासमा सहभागिताका हिसाबले ठूलो र लगातार सडक आन्दोलनका हिसाबले लामो भएको जनाएको छ। पटक–पटक आन्दोलनपछि सहमति भए पनि विद्यालय शिक्षा ऐन जारी हुन नसक्दा शिक्षक–कर्मचारीका मुख्य माग र समस्या समाधान हुन नसकेको महासंघको भनाइ छ।
महासंघका अनुसार अघिल्लो विधेयकमा सकारात्मक रूपमा संशोधन भएका विषयलाई जोगाउँदै नमिलेका विषय सुधार गर्नुपर्ने तथा छुटेका विषय समावेश गरेर नयाँ विधेयक अघि बढाउन आवश्यक छ। विद्यालय, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री ऐन जारी गर्न अब थप ढिलाइ गर्न नहुने महासंघले स्पष्ट पारेको छ।
महासंघले शिक्षा तथा खेलकुद मन्त्रालय र नेपाल सरकारलाई संवाद तथा सहकार्यका माध्यमबाट नयाँ विधेयकको मस्यौदा तयार गरी अघि बढाउन आग्रह गरेको छ। सरकार उदार र व्यावहारिक रूपमा प्रस्तुत नभए अघिल्लो आन्दोलनभन्दा ठूलो र कडा आन्दोलन निम्त्याउने चेतावनीसमेत दिइएको छ।
यसैबीच, अध्यक्ष सुवेदीले आफू भदौ १९ गतेबाट सेवाबाट निवृत्त हुँदै गरेको जानकारी दिँदै महासंघको नेतृत्वबाट समेत अवकाश लिने बताएका छन्। उनले आफ्नो कार्यकालमा सहयोग गर्ने महासंघका पदाधिकारी, आबद्ध संस्थाका अध्यक्ष तथा शिक्षक नेताहरूप्रति आभार व्यक्त गरेका छन्।
सुवेदीले शिक्षक–कर्मचारीको एकतालाई थप मजबुत बनाउँदै शैक्षिक आन्दोलनलाई सुदृढ, सुसंगठित र बलियो बनाउन सबैलाई आह्वान गरेका छन्।
बाढीपीडितप्रति महासंघको श्रद्धाञ्जली
महासंघले भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीबाट विद्यार्थी, शिक्षक–कर्मचारीलगायत नेपाली तथा विदेशी नागरिकको दुःखद निधनप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।
महासंघले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्को यस घडीमा सरकारसँगै उभिएर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। खोज, उद्धार, राहत तथा पुनर्निर्माणका लागि विद्यालयका शिक्षक–कर्मचारीमार्फत आर्थिक सहयोग गर्ने घोषणा पनि महासंघले गरेको छ।
