काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले विपद्को कठिन परिस्थितिमा राजनीतिक, सामाजिक तथा नागरिक तहबाट एकताबद्ध भएर राहत, उद्धार र पुनःस्थापनामा जुट्न आह्वान गरेका छन्।
सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विपद्को यस कठिन घडीमा राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, मानवीय सहायता तथा उद्धारमा संलग्न संघसंस्था, निजी क्षेत्र, व्यवसायी समुदायलगायत सम्पूर्ण नागरिकलाई एकजुट हुन आग्रह गरेका हुन्।
उनले अहिले एकअर्कालाई दोषारोपण गर्ने वा राजनीतिक विवाद र टकरावमा अल्झिने समय नभएको बताए।
‘यो विभाजनको समय होइन। एकअर्कालाई दोषारोपण गर्ने वा राजनीतिक विवाद र टकरावमा अल्झिने समय पनि होइन। यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो,’ राष्ट्रपति पौडेलले भने।
राष्ट्रपति पौडेलले विपद्पछिको अवस्थामा तत्काल उद्धार र राहतसँगै पुनर्निर्माण, पुनःस्थापना तथा आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राख्नुपर्ने बताए। त्यस क्रममा नेपालको विद्यमान विकास मोडेलमाथि समेत पुनर्विचार गर्नुपर्ने आवश्यकता रहेको उनको धारणा थियो।
‘हामी पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानको प्रक्रियामा जाँदै गर्दा हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ,’ उनले भने।
उनले अप्रत्याशित र भयानक विपत्तिको सामना गरिरहेका नागरिकलाई यसबाट पार पाउन आवश्यक शक्ति र साहस प्राप्त होस् भन्ने कामनासमेत गरेका छन्।
उद्धार गरिएकाको आधारभूत आवश्यकता पूरा गर्न जोड
राष्ट्रपति पौडेलले विपद्बाट उद्धार गरिएका प्रत्येक व्यक्तिका लागि खाद्यान्न, स्वच्छ खानेपानी, सुरक्षित आश्रय, आवश्यक औषधोपचार तथा मनोसामाजिक सेवाको पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
उनले विपद्को अवस्थामा सबै नागरिक समान रूपमा प्रभावित नहुने भएकाले जोखिममा रहेका समूहप्रति थप संवेदनशील हुनुपर्ने बताए। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला तथा विशेष संरक्षण आवश्यक पर्ने नागरिकको सुरक्षामा प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
अस्थायी आश्रयस्थलहरू सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन पनि सम्बन्धित निकाय विशेष रूपमा सचेत र संवेदनशील हुनुपर्ने राष्ट्रपति पौडेलले बताए।
परिवारलाई विश्वसनीय सूचना उपलब्ध गराउन आग्रह
राष्ट्रपति पौडेलले विपद्का कारण सम्पर्कविहीन भएका नेपाली तथा विदेशी नागरिकका परिवारजनलाई यथार्थ र विश्वसनीय सूचना उपलब्ध गराउनुपर्नेमा पनि जोड दिए।
उनले आफ्ना प्रियजनसँग पुनर्मिलन गराउन आवश्यक सहजीकरण तथा मानवीय सहयोग उपलब्ध गराउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।
राष्ट्रपति पौडेलले विपद्को यस कठिन समयमा राज्यका सबै संयन्त्र, राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र, सामाजिक संघसंस्था तथा आम नागरिकबीच सहकार्य र ऐक्यबद्धता आवश्यक रहेको उल्लेख गर्दै राहत, उद्धार र पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सबै पक्ष जिम्मेवार ढंगले अघि बढ्नुपर्ने सन्देश दिएका छन्।