काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूलाई गरेको विश्वासलाई निरन्तर कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले जेनजी पुस्ताले राखेको सुशासन र परिवर्तनको आशालाई कुनै पनि हालतमा मर्न नदिने बताएका हुन्।
जेनजी सहिदहरूको स्मृतिमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै गृहमन्त्री गुरुङले आफूलाई दिइएको जिम्मेवारीलाई इमानदारीपूर्वक पूरा गर्ने बताए।
उनले रास्वपा सभापति रवि लामिछानेले आफूलाई विश्वास गरेर जिम्मेवारी दिएको उल्लेख गर्दै भने, ‘मेरो पार्टी सभापति रवि लामिछानेले विश्वास गरेर जेनजीको आशालाई मर्न दिन हुँदैन, तिमी त्यो कुर्सीमा बसेर देखाइदेऊ—सुशासन के हुन्छ भनेर। त्यो विश्वासलाई निरन्तर जगाइराख्न चाहन्छु।’
गुरुङले आफूलाई केवल गृहमन्त्रीका रूपमा मात्र नभई दाइ, भाइ र छोराका रूपमा समेत सम्झिन आग्रह गरे। उनले देशमा फेरि गोली चल्ने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गर्दै आफू जनताको सुरक्षाका लागि दृढ भएर उभिएको बताए।
‘तपाईँको यो मन्त्री, दाइ, भाइ, छोरा एउटै कुराले ढल्छ। त्यो भनेको अर्को गोली चल्नुपर्छ। अर्को गोली चल्नका लागि यो देशमा कसैले हिम्मत गर्न सक्दैन। विश्वास गराउन चाहन्छु,’ उनले भने।
उनको भनाइमा जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदहरूको बलिदानले देशलाई नयाँ दिशातर्फ अघि बढाउने जिम्मेवारी थपिएको छ। सहिदहरूको योगदानलाई केवल स्मरणमा सीमित नराखी उनीहरूले देखेको परिवर्तन र सुशासनको सपना व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए।
गृहमन्त्री गुरुङले आफूले पाएको जिम्मेवारीलाई व्यक्तिगत पद वा शक्तिका रूपमा नभई जनताको विश्वास र अपेक्षा पूरा गर्ने अवसरका रूपमा लिएको संकेत गरेका छन्। उनले देशमा शान्ति, सुरक्षा, सुशासन र जवाफदेहिताको वातावरण निर्माण गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।
कार्यक्रममा जेनजी आन्दोलनका सहिदहरूको योगदानको स्मरण गर्दै उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। सहभागी वक्ताहरूले सहिदहरूको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्दै उनीहरूले उठाएका मुद्दालाई राज्यले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने बताएका थिए।
गुरुङको सम्बोधनमा विशेषगरी जेनजी सहिदहरूको बलिदान, सुशासनप्रतिको प्रतिबद्धता, नेतृत्वको विश्वास र भविष्यमा हिंसात्मक अवस्था दोहोरिन नदिने अठोट मुख्य रूपमा झल्किएको थियो।