काठमाडौँ- भोटेकोशी बाढीसहित विभिन्न विपद्बाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिने उद्देश्यले सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ।
२०८३ भाद्र २२ गते काठमाडौंस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले छात्रवृत्ति योजनाको औपचारिक घोषणा गरेका हुन्।
शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा बाढी तथा अन्य विपद्का कारण शिक्षाबाट प्रभावित बालबालिकाको भविष्य सुनिश्चित गर्ने उद्देश्यले योजना अघि बढाइएको जानकारी दिइएको थियो।
योजनाअन्तर्गत प्रभावित विद्यार्थीलाई आवश्यकता र अवस्थाका आधारमा पूर्ण, आंशिक तथा आवासीय छात्रवृत्ति उपलब्ध गराइनेछ। दुवै अभिभावक गुमाएका बालबालिकालाई पहिलो प्राथमिकता दिइने तथा एक जना अभिभावक गुमाएका विद्यार्थीलाई त्यसपछि प्राथमिकता दिइने व्यवस्था गरिएको छ।
प्रभावित विद्यार्थीलाई विद्यालय शुल्क छुटसँगै पाठ्यपुस्तक, पोसाक, शैक्षिक सामग्री, आवास तथा खानालगायत आवश्यक सहयोग उपलब्ध गराउने योजना रहेको छ। प्रारम्भिक चरणमा निजी शैक्षिक क्षेत्रका प्याब्सन, एनप्याब्सन, हिसान, एपिन र नेपाल मन्टेश्वरी संघलगायतका संस्थाले सरकारसँग सहकार्य गरेका छन्।
सरकारले यो योजना भोटेकोशी बाढी प्रभावित बालबालिकामा मात्र सीमित नराखी भविष्यमा अन्य विपद्का कारण शिक्षाबाट वञ्चित हुने बालबालिकालाई समेत सहयोग गर्ने दीर्घकालीन कार्यक्रमका रूपमा अघि बढाउने जनाएको छ।