काठमाडाैँ- कोरियन भाषा परीक्षा (EPS-TOPIK) को लागि आवेदन फाराम खुला भएकाे छ।
ई.पी.एस कोरिया शाखा ललितपुरले आइतबार सूचना जारी गर्दै २०८० असोज ०१ गते सोमबार देखि ललितपुर भैसेपाटीस्थित युविटि भवनमा सञ्चालन गर्ने जनाएकाे हाे।
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न समझदारी पत्र अनुरुप रोजगार अनुमति प्रणाली ई.पी.एस अन्तर्गत कोरियामा नेपाली नागरिकलाई पानी जहाज कम्पनीमा कामदारका रुपमा पठाउने सिलसिलामा उम्मेदवारको छनौट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गर्ने शाखाले जनाएकाे छ।
एचआरडी सर्विस काेरियाबाट प्राप्त परीक्षा कार्यक्रममा सामेल हुन इच्छुक योग्य नेपाली नागरिकहरू परीक्षामा सहभागी हुन सक्नेछन्।
भाषा परीक्षा २०८० असोज ०१ गते सोमबार ( सन् २०२३ सेप्टेम्बर १८ तारिख) देखि एक दिनमा ४ सिफ्ट सञ्चालन हुनेछ। आवेदक संख्याका आधारमा परीक्षा तालिका फेरबदल हुन सक्ने शाखाले जनाएकाे छ।
आवेदक संख्या बढी भएमा पहिलो र दोस्राे गरी दुई चरणमा परीक्षा सञ्चालन हुनेछ। पहिलो चरणको भाषा परीक्षाको नतिजा प्रकाशन पश्चात सम्बन्धित क्षेत्रमा उत्तीर्ण हुनेहरूमध्येबाट उच्च अंक प्राप्त गरेका आवेदकहरूलाई मात्र सीप परीक्षणमा समावेश गरिने शाखाले जनाएकाे छ।
सीप परीक्षण तथा अन्तर्वार्तामा प्राप्त गरेको प्राप्ताङ्ककाे आधारमा अधिकतम अंक प्राप्त गर्नेहरूमध्येबाट रोष्टरमा सूचिकृत गर्न पहिलो चरण र दोश्रो चरणमा गरी अनुमानित उत्तीर्ण संख्या २५ सयको अन्तिम नतिजा प्रकाशन हुनेछ। परीक्षा पास गरेका मध्येबाट स्वास्थ्य परीक्षणबाट समेत उत्तीर्ण भएपछि मात्र रोजगार आवेदन फाराम भर्न सक्नेछन्
आवेदन दिन १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ। सम्बन्धित उम्मेदवारको जन्म मिति सन् १९८३ अगष्ट ०६ देखि सन् २००५ अगष्ट ०५ (वि. सं. २०४० साउन २१ देखि २०६२ साउन २१ गते बीचको हुनुपर्नेछ।
आवेदन फाराम २०८० साउन २० गते शनिबार देखि २४ गते सम्म https://eoers.epsnepal.gov.np मा गई अनलाईनबाट मात्र फाराम भर्नुपर्नेछ।
![eps 11690689194.jpg](https://www.edusawal.com/uploads/posts/eps 11690689194.jpg)