काठमाडौं - शिक्षक सेवा आयोगले आर्थिक वर्ष २०८३/०८४ का लागि अध्यापन अनुमतिपत्र तथा शिक्षक पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ।
आयोगले स्वीकृत गरेको कार्यतालिकाअनुसार शिक्षक बढुवा, खुला प्रतियोगितात्मक परीक्षा, अध्यापन अनुमतिपत्र तथा करार सूची प्रकाशनलगायतका कामका लागि महिनागत समयतालिका निर्धारण गरिएको छ। कार्यतालिका २०८३ साल भदौ ९ गते स्वीकृत भएको हो।
शिक्षक बढुवाको प्रक्रिया कहिले ?
प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहको द्वितीय तथा प्रथम श्रेणीमा बढुवाका लागि २५ प्रतिशत आन्तरिक प्रतियोगितात्मक र ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनको व्यवस्था राखिएको छ।
आन्तरिक प्रतियोगितात्मकतर्फ प्रतिशत निर्धारण कात्तिकमा, विज्ञापन पुसमा, विषयगत परीक्षा माघमा, विषयगत नतिजा फागुनमा तथा अन्तर्वार्ता र अन्तिम नतिजा चैतमा गर्ने कार्यतालिका छ। सिफारिस पनि चैतमै गर्ने उल्लेख छ।
अध्यापन अनुमतिपत्रको परीक्षा
माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि कात्तिकमा विज्ञापन तथा माघमा सामान्य परीक्षा सञ्चालन गर्ने कार्यतालिका छ। परीक्षाको सामान्य नतिजा पनि माघमै प्रकाशित गर्ने उल्लेख छ।
निम्नमाध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि मंसिरमा विज्ञापन, माघमा सामान्य परीक्षा र फागुनमा नतिजा प्रकाशन गर्ने समय तोकिएको छ।
आयोगले अध्यापन अनुमतिपत्रको नतिजा प्रकाशित भएको एक महिनाभित्र अनुमतिपत्र वितरण गरिने जनाएको छ।
खुला प्रतियोगितात्मक परीक्षाको समयतालिका
माध्यमिक तह तृतीय श्रेणीका खुला पदका लागि माघमा प्रतिशत निर्धारण, फागुनमा विज्ञापन, वैशाखमा सामान्य परीक्षा र असारमा विषयगत परीक्षा सञ्चालन गर्ने कार्यतालिका छ। सामान्य नतिजा वैशाखमै प्रकाशित गर्ने उल्लेख छ।
निम्नमाध्यमिक तह तृतीय श्रेणीका लागि फागुनमा प्रतिशत निर्धारण, चैतमा विज्ञापन, जेठमा सामान्य परीक्षा र असारमा विषयगत परीक्षा सञ्चालन गर्ने तालिका छ। सामान्य नतिजा जेठमा प्रकाशित गर्ने भनिएको छ।
अघिल्लो आर्थिक वर्षका बाँकी काम पनि समेटिए
कार्यतालिकामा अघिल्लो आर्थिक वर्षका बाँकी रहेका केही परीक्षा तथा पदपूर्ति प्रक्रियालाई समेत समेटिएको छ।
माध्यमिक तह तृतीय श्रेणीको बाँकी प्रक्रियाअन्तर्गत विषयगत परीक्षा मंसिरमा, विषयगत नतिजा फागुनमा तथा अन्तर्वार्ता र सिफारिस चैतमा गर्ने उल्लेख छ।
निम्नमाध्यमिक तह तृतीय श्रेणीको बाँकी प्रक्रियामा मंसिरमा सामान्य परीक्षा, माघमा विषयगत परीक्षा, मंसिरमा सामान्य नतिजा, फागुनमा विषयगत नतिजा तथा चैतमा अन्तर्वार्ता र सिफारिस गर्ने कार्यतालिका राखिएको छ।
करार सूची पनि प्रकाशन गरिने
तीन वर्षे तहका लागि करार सूची प्रकाशन गर्ने व्यवस्था पनि कार्यतालिकामा समेटिएको छ। खुला प्रतियोगितात्मक परीक्षाको नतिजा सिफारिस भएको एक महिनाभित्र करार सूची प्रकाशन गर्ने उल्लेख छ।
त्यस्तै, प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहको द्वितीय तथा प्रथम श्रेणी बढुवाका अघिल्लो आर्थिक वर्षका बाँकी प्रक्रियाअन्तर्गत अन्तर्वार्ता र अन्तिम नतिजा असोजमा तथा सिफारिस असोजमै गर्ने कार्यतालिका राखिएको छ।
आयोगले शिक्षा विभागबाट तहगत पदपूर्तिका लागि विवरण प्राप्त भएपछि कार्यतालिकाअनुसार पदपूर्तिको कामकारबाही अघि बढाइने जनाएको छ।
