काठमाडौँ- राष्ट्रिय किताबखाना (शिक्षक) ले शिक्षक तथा कर्मचारीलाई सम्पत्ति विवरण पेस गर्दा संशोधित फाराम अनिवार्य रूपमा प्रयोग गर्न आग्रह गरेको छ।
किताबखानाले सार्वजनिक गरेको सूचनामा नेपाल राजपत्र, भाग ५, खण्ड ६०, संख्या १ मा २०६७ वैशाख ६ गते प्रकाशित संशोधनअनुसारको सम्पत्ति विवरण फाराम प्रयोग गरी विवरण पेस गर्न अनुरोध गरिएको छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ को उपदफा (१) बमोजिम शिक्षक तथा कर्मचारीले आफ्नो सम्पत्ति विवरण पेस गर्नुपर्ने व्यवस्था रहेको किताबखानाले जनाएको छ।
संशोधित फाराममा विवरण पेस गर्ने व्यक्तिको नाम, पद, कार्यालय, स्थायी तथा हालको बसोबासको ठेगाना र कर्मचारी संकेत नम्बरलगायतका विवरण उल्लेख गर्नुपर्नेछ।
त्यसैगरी घर तथा जग्गाको विवरण, खरिद मूल्य, सम्पत्ति प्राप्तिको स्रोत र कैफियतसम्बन्धी विवरणसमेत फाराममा खुलाउनुपर्ने व्यवस्था गरिएको छ।
किताबखानाले सम्पत्ति विवरण पेस गर्नुपर्ने सबै शिक्षक तथा कर्मचारीलाई संशोधित फाराम प्रयोग गरी प्रचलित कानुनी व्यवस्थाअनुसार विवरण बुझाउन आग्रह गरेको छ।