काठमाडौँ- नेपाल शिक्षक महासंघले असोज महिनाभित्र नयाँ नेतृत्व पाउने भएको छ। अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र सहअध्यक्ष नानुमाया पराजुली अनिवार्य अवकाशमा गएपछि नेतृत्वविहीन बनेको महासंघमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाइएको हो।
महासंघका महासचिव तुलाबहादुर थापाले नेपाल शिक्षक संघ र नेपाल शिक्षक संगठनलाई क्रमशः अध्यक्ष र सहअध्यक्षका लागि नाम पठाउन आग्रह गरिएको बताए।
उनका अनुसार दुवै संगठनलाई महासंघको नेतृत्वका लागि नाम पठाउन आग्रह गरिसकिएको छ। असोजभित्रै महासंघले पूर्ण नेतृत्व पाउने उनको विश्वास छ।
नेपाल शिक्षक संघका केन्द्रीय महासचिव ज्ञानेन्द्रबहादुर रावलले असोजको पहिलो साता बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट महासंघको अध्यक्षको नाम टुंगो लगाइने बताए। अध्यक्ष चयनका विषयमा संघभित्र आवश्यक गृहकार्य भइरहेको उनले जानकारी दिए।
महासंघको अध्यक्षका लागि शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी र महासचिव ज्ञानेन्द्रबहादुर रावलको नाम चर्चामा रहेको छ।
त्यस्तै, सहअध्यक्षको जिम्मेवारी नेपाल शिक्षक संगठनको भागमा परेकाले संगठनले पनि छिट्टै नाम पठाउने तयारी गरेको छ। संगठनका अध्यक्ष शंकर अधिकारीले शिक्षक तथा कर्मचारीका मुद्दामा सरकारसँग प्रभावकारी रूपमा आवाज उठाउन सक्ने व्यक्तिलाई सहअध्यक्षका रूपमा अघि सारिने बताए।
सुवेदी र पराजुली अनिवार्य अवकाशमा गएपछि महासंघको नेतृत्व रिक्त बनेको थियो। नयाँ नेतृत्व चयन भएपछि शिक्षक तथा कर्मचारीका माग, शिक्षा ऐन निर्माणलगायत विषयमा महासंघको भूमिका थप सक्रिय हुने अपेक्षा गरिएको छ।