काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगलाई प्रभावकारी, गतिशील र नतिजामुखी ढंगले सञ्चालन गर्न नवनियुक्त पदाधिकारीलाई निर्देशन दिएका छन्।
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षक सेवा आयोगका अध्यक्ष डा. हरिप्रसाद लम्सालसहित नवनियुक्त पदाधिकारीसँग भएको छलफलमा मन्त्री पोखरेलले शिक्षक भर्ना, बढुवा, पाठ्यक्रम सुधार तथा आयोगसँग सम्बन्धित ऐन–नियमावलीलाई समयानुकूल परिमार्जन गर्नुपर्नेमा जोड दिए।
मन्त्री पोखरेलले विद्यालयमा शिक्षक दरबन्दी मिलान, परीक्षा प्रणालीमा सुधार तथा परीक्षाफल समयमै प्रकाशन गर्ने विषयलाई प्राथमिकतामा राख्न आयोगका पदाधिकारीलाई आग्रह गरे।
विद्यालय शिक्षा ऐन निर्माणको प्रक्रिया अघि बढिरहेको जानकारी दिँदै उनले आगामी ऐनमा शिक्षक सेवा आयोगसँग सम्बन्धित आवश्यक विषयलाई समेत समेटिने विश्वास व्यक्त गरे।
हालै बसेको मन्त्रिपरिषद् बैठकले भक्तपुरका डा. हरिप्रसाद लम्साललाई शिक्षक सेवा आयोगको अध्यक्ष नियुक्त गरेको थियो। त्यस्तै, मकवानपुरका रामशरण सापकोटा र काठमाडौँकी विष्णु घिमिरे रिमाललाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय भएको थियो।
छलफलमा आयोगका अध्यक्ष डा. लम्सालले आयोगलाई थप गतिशील, व्यवस्थित र नतिजामुखी बनाउन काम सुरु भइसकेको जानकारी दिए।
उनले शिक्षक व्यवस्थापन तथा आयोगको प्रभावकारिता बढाउन नीतिगत र संरचनागत सुधार आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि आयोगले पहल अघि बढाएको बताए।
छलफलमा शिक्षा मन्त्रालयका उच्च अधिकारी तथा मन्त्रीको सचिवालयका प्रतिनिधिहरूको समेत उपस्थिति थियो।