काठमाडौं - सरकारले सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी), विद्यालय सहायक कर्मचारी, विद्यालय सहयोगी तथा शिक्षण सहयोग अनुदानअन्तर्गत कार्यरत शिक्षकहरूको पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ देखि लागू हुने गरी उनीहरूको पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको हो। मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय सहायक कर्मचारी, विद्यालय सहयोगी तथा माध्यमिक र आधारभूत तहमा शिक्षण सहयोग अनुदान कोटाअन्तर्गत कार्यरत शिक्षकहरूको पारिश्रमिक बढाइएको हो।
यसअघि संघीय सरकारले प्रारम्भिक बालविकास सहजकर्तालाई मासिक १२ हजार रुपैयाँ, विद्यालय सहायक कर्मचारीलाई मासिक १५ हजार रुपैयाँ र विद्यालय सहयोगीलाई मासिक १० हजार रुपैयाँ पारिश्रमिक अनुदान उपलब्ध गराउँदै आएको थियो।
अब आर्थिक वर्ष २०८२/८३ देखि लागू हुने गरी उनीहरूको पारिश्रमिक अनुदानमा मासिक ३ हजार रुपैयाँका दरले वृद्धि गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ।
यसअनुसार इसीडी सहजकर्ताको मासिक पारिश्रमिक अनुदान १५ हजार रुपैयाँ, विद्यालय सहायक कर्मचारीको १८ हजार रुपैयाँ र विद्यालय सहयोगीको १३ हजार रुपैयाँ पुग्नेछ।
त्यसैगरी, नेपाल सरकारबाट निर्धारित माध्यमिक तह (कक्षा ९–१०) र आधारभूत तह (कक्षा ६–८) मा शिक्षण सहयोगी अनुदान कोटामा कार्यरत शिक्षकहरूको पारिश्रमिकसमेत वृद्धि गरिएको छ। माध्यमिक तहका शिक्षकको पारिश्रमिक माध्यमिक तृतीय श्रेणी तथा आधारभूत तहका शिक्षकको पारिश्रमिक निम्नमाध्यमिक तृतीय श्रेणीको सुरु तलब बराबर कायम गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार उक्त पारिश्रमिक वृद्धि कार्यान्वयनका लागि चालु आर्थिक वर्षमा ४ अर्ब ६६ करोड ९१ लाख ३० हजार रुपैयाँ बजेट आवश्यक पर्ने देखिएको छ। सोहीअनुसार अर्थ मन्त्रालयबाट स्रोत व्यवस्थापनका लागि सहमति प्राप्त भएपछि पारिश्रमिक अनुदान वृद्धि गर्ने निर्णय गरिएको हो।
शिक्षा तथा खेलकुद मन्त्रालयका प्रवक्ता एवं सहसचिव श्रीप्रसाद भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त जानकारी दिइएको छ। विज्ञप्ति २०८३/०५/०३ गते जारी गरिएको हो।
