काठमाडौँ- सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) को नयाँ आङ्गिक क्याम्पस स्थापना गर्ने तयारी अघि बढाएको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार मधेश प्रदेशमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्दै इन्जिनियरिङ अध्ययनका लागि विद्यार्थीले अन्य प्रदेशमा जानुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले नयाँ क्याम्पस स्थापना गर्न लागिएको हो।
मधेश प्रदेशबाट प्रत्येक वर्ष ठूलो संख्यामा विद्यार्थी इन्जिनियरिङ अध्ययनका लागि काठमाडौँसहित अन्य प्रदेशमा जाने गरेका छन्। यसका कारण विद्यार्थी तथा अभिभावकमाथि अतिरिक्त आर्थिक भार पर्नुका साथै बसोबासलगायतका व्यावहारिक समस्या समेत सिर्जना हुँदै आएको छ।
मन्त्री पोखरेलले नयाँ क्याम्पस स्थापनाका लागि उपयुक्त स्थान छनोट गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए। उनका अनुसार स्थान पहिचान तथा सम्भाव्यता अध्ययनका लागि विशेष अध्ययन समिति गठन गरिनेछ। समितिले दिने प्रतिवेदनका आधारमा क्याम्पस स्थापनाको स्थान तय गरिनेछ।
क्याम्पस निर्माण र सञ्चालनको निश्चित समयसीमा तय भइनसके पनि आगामी तीन वर्षभित्र पठनपाठन सुरु गर्ने लक्ष्यसहित आन्तरिक तयारी भइरहेको मन्त्री पोखरेलले बताएका छन्।
सरकारले प्रस्तावित क्याम्पसलाई परम्परागत रूपमा इन्जिनियरिङ पढाउने संस्थामा मात्र सीमित नराखी अनुसन्धान, नवप्रवर्तन र आविष्कारको केन्द्रका रूपमा विकास गर्ने योजना बनाएको छ। आधुनिक प्रविधि, वैज्ञानिक अनुसन्धान तथा व्यावहारिक प्रयोगलाई प्राथमिकता दिइने जनाइएको छ।
क्याम्पस स्थापना भएपछि मधेश प्रदेशका विद्यार्थीले आफ्नै प्रदेशमा गुणस्तरीय प्राविधिक शिक्षा हासिल गर्ने अवसर पाउने सरकारको अपेक्षा छ। साथै स्थानीयस्तरमै अनुसन्धान तथा प्राविधिक नवप्रवर्तनको वातावरण निर्माण हुने विश्वास गरिएको छ।
हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानका आङ्गिक क्याम्पसहरू पुल्चोक, थापाथली, धरान, चितवन र पोखरामा सञ्चालनमा छन्। मधेशमा नयाँ क्याम्पस स्थापना भए आईओईको आङ्गिक क्याम्पस विस्तार हुने छ।