काठमाडौँ- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन्। तीमध्ये ११ वटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने विद्यालयका भवन तथा शैक्षिक सम्पत्तिमा गरी करिब ९३ करोड ७३ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति आवश्यकता आकलन प्रतिवेदनअनुसार बाढीबाट १८ विद्यालयका ५६ वटा भवनमा क्षति पुगेको छ। ती भवनका १५२ वटा कोठामा आंशिक र १५६ वटा कोठामा पूर्ण क्षति भएको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनअनुसार रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा एउटा विद्यालयका दुई भवनका ११ कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। त्यहाँ करिब ३ करोड ७५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
उत्तरगया गाउँपालिकाका तीन विद्यालयका ६ भवनका ३६ कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। ती विद्यालयमा करिब १२ करोड २९ लाख रुपैयाँ बराबरको क्षति भएको आकलन गरिएको छ।
नुवाकोटको विदुर नगरपालिकामा सबैभन्दा बढी विद्यालय प्रभावित भएका छन्। त्यहाँ नौ विद्यालयका ३२ भवनमा क्षति पुगेको छ। ६१ कोठामा आंशिक र ८९ कोठामा पूर्ण क्षति हुँदा करिब ३६ करोड ६२ लाख रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ।
धादिङको गल्छी गाउँपालिकाका तीन विद्यालयका १० भवनमा क्षति पुगेको छ। ती विद्यालयका ७७ कोठामा आंशिक र आठ कोठामा पूर्ण क्षति हुँदा करिब १० करोड ६१ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
त्यस्तै, बेनिघाट रोराङ गाउँपालिकाको एक विद्यालयका दुई भवनका १२ कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। उक्त विद्यालयमा करिब ४ करोड १० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
सिद्धलेक गाउँपालिकाको एक विद्यालयका चार भवनका १४ कोठामा आंशिक क्षति पुगेको छ। त्यहाँ करिब १ करोड ४३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनले जनाएको छ।
प्रतिवेदनअनुसार विद्यालयमा रहेका शैक्षिक सामग्री तथा अन्य शैक्षिक सम्पत्तिमा मात्रै २४ करोड ९३ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
बाढीबाट क्षतिग्रस्त विद्यालयको पुनरुत्थान तथा पुनर्निर्माणका लागि भने करिब ४ अर्ब २३ करोड ३५ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरिएको छ।