काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेश प्रदेशमा आयोजित अन्तरक्रिया कार्यक्रमका क्रममा भएको घटनालाई लिएर सामाजिक सञ्जालमा सम्पूर्ण सन्दर्भ बङ्ग्याउने प्रयास भएको बताएका छन्।
मन्त्री पोखरेलले एक मिनेटभन्दा छोटो भिडियो क्लिप काटेर सामाजिक सञ्जालमा प्रसारित गर्दै घटनाको वास्तविक सन्दर्भभन्दा फरक धारणा सिर्जना गर्न खोजिएको दाबी गरेका छन्।
उनका अनुसार सिरहा र सप्तरीमा आयोजित अन्तरक्रिया कार्यक्रममा १०० भन्दा बढी विद्यार्थी, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालाको सहभागिता थियो। कार्यक्रममा दुई जना व्यक्तिले आएर हल्ला गरेपछि सहभागीको संवाद प्रभावित हुने अवस्था बनेकाले आफूहरू कार्यक्रमस्थलबाट बाहिरिएको उनले स्पष्ट पारे।
‘लोकतान्त्रिक पद्धतिमा असहमति जनाउने अधिकार सबैलाई हुन्छ । तर, पूरा सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउनु वा नियोजित भ्रमको पछि लाग्नु उचित हुँदैन,’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्।
विद्यालय शिक्षालाई थप व्यवहारिक, सीपमूलक र समयसापेक्ष बनाउने उद्देश्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६ परिमार्जनको तयारी भइरहेको उनले बताए। आगामी शैक्षिक सत्रदेखि कार्यान्वयन गर्ने तयारीसहित ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ लगायतका नयाँ अवधारणा समेट्ने विषयमा विद्यार्थी, शिक्षक र अभिभावकबाट प्रत्यक्ष सुझाव लिइरहेको उनको भनाइ छ।
कार्यक्रममा अवरोध सिर्जना भए पनि शिक्षा सुधारको अभियान नरोकिने मन्त्री पोखरेलले बताएका छन्। घटनापछि आफूहरू सिरहास्थित बहिरा बालबालिका अध्ययन गर्ने विद्यालय तथा मदरसा शिक्षालयमा पुगेर विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गरेको उनले जानकारी दिए।
उनका अनुसार शनिबार मात्रै करिब ८ देखि १० वटा विद्यालयमा पुगेर पाठ्यक्रम तथा विद्यालय शिक्षासम्बन्धी सुझाव संकलन गरिएको थियो।
मन्त्री पोखरेलले मधेश प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको बढ्दो प्रभाव तथा शिक्षा क्षेत्रमा भइरहेका कामप्रति असन्तुष्टि रहे पनि त्यसका आधारमा भ्रम फैलाउनुभन्दा आफूहरूले गरिरहेको कामको मूल्याङ्कन जनतालाई नै गर्न दिनुपर्ने बताए।
‘हामी यहाँ राजनीतिक स्टन्ट वा हल्ला गर्न होइन, ग्राउन्डमै पुगेर शिक्षा क्षेत्रमा वास्तविक र सकारात्मक परिवर्तन ल्याउन आएका हौँ,’ उनले भने, ‘हल्लाभन्दा काम ठूलो हो, र हाम्रो काम र नियतको मूल्याङ्कन जनता स्वयम्ले गर्नेछन्।’
मन्त्री पोखरेलका अनुसार पाठ्यक्रम सुधारका लागि भइरहेको सुझाव संकलन अभियानअन्तर्गत टोली आइतबार सप्तरी हुँदै मोरङतर्फ जानेछ। विद्यार्थीको रुचि, आवश्यकता र बदलिँदो समयअनुसार विद्यालय शिक्षालाई परिमार्जन गर्न सरोकारवालाबाट प्राप्त सुझावलाई पाठ्यक्रम सुधारको प्रक्रियामा समेटिने उनले बताए।