काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शैक्षिक गुणस्तर सुधार र परीक्षा प्रणालीलाई व्यवस्थित बनाउन सबै तहमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी गरेको छ। यसका लागि विश्वविद्यालयले पाठ्यक्रम निर्माण तथा परिमार्जनको काम अघि बढाएको छ।
उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, विश्वविद्यालयको शैक्षिक वातावरण सुधार र परीक्षा प्रणालीलाई प्रभावकारी बनाउने विषयमा शिक्षा तथा खेलकुद मन्त्रालय र त्रिविका पदाधिकारीबीच छलफल भएको छ।
सिंहदरबारस्थित मन्त्रालयमा शुक्रबार भएको छलफलमा त्रिविको संस्थागत पहिचान स्थापित गर्ने, अनुसन्धानमूलक गतिविधिलाई प्रोत्साहन गर्ने, पठनपाठनको प्रभावकारिता बढाउने तथा विद्यार्थीको शैक्षिक क्षमताका आधारमा विद्यार्थी कोटा निर्धारण गर्ने विषयमा विशेष जोड दिइएको थियो।

त्यस्तै, नयाँ शैक्षिक कार्यक्रम सञ्चालन र सम्बन्धन वितरणलाई मापदण्डमा आधारित बनाउने, उच्च शिक्षामा लगानी वृद्धि गर्ने तथा विश्वविद्यालयको समग्र शैक्षिक वातावरण सुधार गर्ने विषयमा पनि छलफल भएको थियो।
छलफलका क्रममा त्रिविका पदाधिकारीहरूले सेमेस्टर प्रणाली कार्यान्वयनका लागि पाठ्यक्रम निर्माण भइरहेको जानकारी गराएका थिए। विश्वविद्यालयमा आवश्यक नीतिगत सुधारसँगै विद्यमान पाठ्यक्रम परिमार्जनको प्रक्रिया पनि अघि बढाइएको उनीहरूको भनाइ थियो।
त्रिविका उपकुलपति प्रा.डा. भोला थापाले विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार गरी उत्कृष्टताको केन्द्र (सेन्टर फर एक्सिलेन्स) का रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले नेपालको समग्र उच्च शिक्षा सुधारका लागि मन्त्रालयसँग समन्वय गर्दै विस्तृत कार्ययोजनासहित अघि बढ्ने बताए।
शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झाले विद्युतीय हाजिरी प्रणाली (ई–एटेन्डेन्स) लागू गर्दा विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने बताए। उनले सम्बन्धन वितरणमा संख्यात्मक विस्तारभन्दा गुणस्तरलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै त्रिविबाट सम्बन्धन प्राप्त सबै क्याम्पसमा आवश्यक शैक्षिक पूर्वाधार, पुस्तकालय र प्रयोगशालाको व्यवस्था अनिवार्य हुनुपर्ने धारणा राखे।
झाले क्याम्पसको दिगोपन र शैक्षिक गुणस्तर कायम राख्न विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै पठनपाठनलाई सेमेस्टर प्रणालीमा लैजान, क्याम्पसलाई उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्न र शैक्षिक सत्रलाई व्यवस्थित बनाउनुपर्ने बताए। उनले त्रिविको जग्गा फिर्ता ल्याउने विषयलाई पनि प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिए।

मन्त्रालयका सहसचिव श्रीप्रसाद भट्टराईले त्रिविको जग्गासम्बन्धी विषयमा थप खोजबिन गरी सम्पूर्ण विवरणसहितको लगत तयार गर्नुपर्ने बताए। यसका लागि मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने उनको भनाइ थियो।
शैक्षिक कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा विश्वविद्यालयको संस्थागत सुधारका लागि मन्त्रालय आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको पनि उनले स्पष्ट पारे।
छलफलमा त्रिविका उपकुलपति प्रा.डा. भोला थापा, शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झा, शिक्षाध्यक्ष प्रा.डा. अञ्जना सिंह, रजिस्ट्रार सहप्राडा रवीन्द्र शिवाकोटी, मन्त्रालयका सहसचिवद्वय जयराम अधिकारी र श्रीप्रसाद भट्टराई तथा विश्वविद्यालयका विभिन्न संकायका डिनहरूको सहभागिता रहेको थियो।