काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विश्वविद्यालयको शिक्षण तथा अनुसन्धान क्षेत्रमा विशिष्ट अनुभव र दक्षता हासिल गरेका जनशक्तिलाई आकर्षित गर्ने उद्देश्यले पहिलो पटक लिखित परीक्षा नलिई १०० जना उपप्राध्यापकलाई स्थायी सेवामा नियुक्त गर्ने भएको छ।
विश्वविद्यालयले प्राज्ञिक तथा अनुसन्धानात्मक विशिष्टताका आधारमा खुला प्रतिस्पर्धामार्फत उपप्राध्यापक नियुक्त गर्न लागेको हो। यसअघि उपप्राध्यापक तहमा लिखित परीक्षा नलिई सिधै स्थायी नियुक्तिका लागि सिफारिस गर्ने अभ्यास नभएको त्रिविले जनाएको छ।
त्रिवि सेवा आयोगका अनुसार यस पटक उपप्राध्यापकसँगै १० जना प्राध्यापक र २० जना सहप्राध्यापकसमेत यही प्रक्रियाबाट नियुक्तिका लागि सिफारिस गरिनेछ। यसरी अनुसन्धानात्मक विशिष्टताका आधारमा तीनै तहमा गरी कुल १३० जना शिक्षक नियुक्त गर्ने प्रक्रिया अघि बढाइएको हो।
विश्वविद्यालयले नियमित लिखित परीक्षाको तयारीमा संलग्न नभए पनि शिक्षण, अनुसन्धान, अनुसन्धानमूलक लेख तथा प्राज्ञिक प्रकाशनमा सक्रिय रहेका दक्ष जनशक्तिलाई विश्वविद्यालयको सेवामा भित्र्याउने लक्ष्य राखेको छ। विशेषगरी स्वदेशी तथा विदेशी विश्वविद्यालयमा प्राध्यापन गरिरहेका र अनुसन्धान क्षेत्रमा उल्लेखनीय योगदान गरेका व्यक्तिलाई आकर्षित गर्न यस्तो व्यवस्था गरिएको त्रिविको भनाइ छ।
कसरी हुन्छ छनोट ?
त्रिवि कार्यकारी परिषद्ले यस प्रयोजनका लागि ‘त्रिभुवन विश्वविद्यालय विशिष्टताका आधारमा खुला प्रतियोगिताद्वारा शिक्षक नियुक्तिको सिफारिससम्बन्धी विनियम, २०८२’ तयार गरेको छ। सोही विनियमका आधारमा त्रिवि सेवा आयोगले छनोट प्रक्रिया अघि बढाउनेछ।
यस प्रक्रियालाई फास्ट ट्र्याक अर्थात् द्रुतमार्ग विधिसमेत भनिएको छ। यसमा इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले सेवा आयोगले प्रकाशित गरेको विज्ञापनअनुसार आवेदन दिनुपर्नेछ। आवेदकले पेस गरेका शैक्षिक योग्यता, अनुसन्धान तथा प्राज्ञिक उपलब्धिसम्बन्धी कागजातको मूल्याङ्कन गरी आयोगले छनोट सूची तयार पार्नेछ।
छनोट सूचीमा परेका उम्मेदवारलाई अन्तर्वार्तामा बोलाइनेछ। कागजात मूल्याङ्कन तथा अन्तर्वार्ताबाट प्राप्त अङ्कका आधारमा सेवा आयोगले स्थायी नियुक्तिका लागि विश्वविद्यालयसमक्ष सिफारिस गर्नेछ। त्रिवि सेवा आयोगका प्रमुख विष्णुप्रसाद अर्यालले यही प्रक्रियाबाट योग्य उम्मेदवार छनोट गरिने जानकारी दिएका छन्।
अनुसन्धान र प्रकाशनलाई १५० अङ्क
विशिष्टताका आधारमा शिक्षक नियुक्ति गर्ने विनियमले कुल २०० पूर्णाङ्कको मूल्याङ्कन प्रणाली निर्धारण गरेको छ। यसमा सबैभन्दा बढी प्राथमिकता अनुसन्धानमूलक कृति तथा प्रकाशनलाई दिइएको छ।
मूल्याङ्कनका लागि निम्नअनुसार अङ्कभार निर्धारण गरिएको छ :
|
मूल्याङ्कनका आधार
|
अङ्कभार
|
|
अनुसन्धानमूलक कृति तथा प्रकाशन
|
१५०
|
|
शिक्षण सेवा, अनुसन्धान कार्य तथा अनुसन्धानसम्बन्धी योगदान
|
१०
|
|
शोध निर्देशन तथा अनुसन्धान पुरस्कार
|
२०
|
|
अन्तर्वार्ता
|
२०
|
|
जम्मा
|
२००
|
यस व्यवस्थाले अनुसन्धानमूलक लेखन, प्राज्ञिक प्रकाशन, शोध निर्देशन तथा अनुसन्धान क्षेत्रमा योगदान गरेका व्यक्तिलाई विशेष अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। परम्परागत लिखित परीक्षाभन्दा अनुसन्धान र प्राज्ञिक उपलब्धिलाई बढी महत्त्व दिने यस विधिलाई विश्वविद्यालयले दक्ष जनशक्ति आकर्षित गर्ने रणनीतिका रूपमा अघि सारेको हो।
गत वर्ष नै खुलेको थियो विज्ञापन
त्रिवि सेवा आयोगले खुला, आन्तरिक तथा अनुसन्धानात्मक विशिष्टताका आधारमा शिक्षक नियुक्तिका लागि २०८२ साल जेठमै विज्ञापन आह्वान गरेको थियो। तर शिक्षक तथा कर्मचारीको विरोध र विश्वविद्यालयका पदाधिकारी परिवर्तनलगायतका कारण त्यसबेला आवेदन सङ्कलन भए पनि नियुक्ति प्रक्रिया अगाडि बढ्न सकेको थिएन।
पछिल्लो समय विश्वविद्यालयका पदाधिकारी तथा सेवा आयोगका अध्यक्ष र सदस्य नियुक्तिको प्रक्रिया पूरा भएपछि रोकिएका विज्ञापनअनुसार छनोट तथा नतिजा प्रकाशनका काम अघि बढाइएको हो।
हाल सेवा आयोगले खुला तथा आन्तरिक प्रतिस्पर्धाका लिखित परीक्षाको नतिजा प्रकाशन, अन्तर्वार्ता सञ्चालन र अन्तर्वार्ताको नतिजा सार्वजनिक गर्ने कामसमेत सँगसँगै अघि बढाइरहेको जनाएको छ।
आयोगका अनुसार केही विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक हुन बाँकी छ भने लिखित परीक्षामा उत्तीर्ण भएका शिक्षक तथा कर्मचारीको चार हजारभन्दा बढी अन्तर्वार्ता सम्पन्न गर्न बाँकी रहेको छ।
त्रिविको यो नयाँ नियुक्ति प्रक्रियाले विश्वविद्यालयमा अनुसन्धानमुखी शिक्षण संस्कृतिको विकास, अन्तर्राष्ट्रियस्तरको प्राज्ञिक जनशक्ति आकर्षण तथा उच्च शिक्षाको गुणस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। यद्यपि लिखित परीक्षा नलिई गरिने नियुक्तिमा छनोटको पारदर्शिता, वस्तुनिष्ठ मूल्याङ्कन र प्रतिस्पर्धात्मक निष्पक्षता कायम गर्नु विश्वविद्यालयका लागि महत्त्वपूर्ण चुनौती हुनेछ।