काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयले चारवर्षे व्यवस्थापन संकायअन्तर्गत बीबीएस प्रथम वर्षको नियमित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
परीक्षा नियन्त्रण कार्यालय, बल्खुले २०८३ साल साउन महिनामा सञ्चालन गरेको चारवर्षे बीबीएस प्रथम वर्षको नियमित परीक्षाको नतिजा केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयअनुसार प्रकाशित गरेको हो।
विश्वविद्यालयले सार्वजनिक गरेको सूचनाअनुसार परीक्षार्थीहरूले आफ्नो नतिजा परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक रिजल्ट पोर्टल www.result.exam.tu.edu.np मार्फत हेर्न सक्नेछन्।
यसैबीच, त्रिवि संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम, २०५० को परिच्छेद ६६ का विभिन्न प्रावधान उल्लङ्घन गरी परीक्षा मर्यादाविपरीत कार्य गर्ने केही परीक्षार्थीलाई कारबाहीसमेत गरिएको छ। सूचनामा उल्लेख भएअनुसार सम्बन्धित परीक्षार्थीहरूलाई २०८४ सालसम्म दुई वर्षका लागि त्रिविबाट सञ्चालन हुने परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्कासन गरिएको छ।
परीक्षाफल सकेसम्म शुद्ध होस् भन्ने उद्देश्यले प्रकाशित गरिएको जनाउँदै परीक्षा नियन्त्रण कार्यालयले छपाइ वा अन्य कुनै कारणबाट नतिजामा त्रुटि देखिएमा कार्यालयको अभिलेखबाट सच्याइने जनाएको छ।
त्यसैगरी, नतिजा सार्वजनिक भएका क्याम्पसहरूलाई TU-EMIS Portal को Result Menu मा गई Marksheet Option छनोट गरेर नयाँ प्रिन्ट निकाल्न र सम्बन्धित विद्यार्थीलाई वितरण गर्न परीक्षा नियन्त्रण कार्यालयले अनुरोध गरेको छ।
विद्यार्थीहरूले अनलाइनबाटै नतिजा हेर्न सक्ने भएकाले विश्वविद्यालयले सम्बन्धित सबैलाई आधिकारिक रिजल्ट पोर्टल प्रयोग गर्न आग्रह गरेको छ।
