काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्ने उद्देश्यले विभिन्न मुलुकका लागि ‘कन्ट्री फोकल पर्सन’ नियुक्त गर्न आवेदन आह्वान गरेको छ। विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रले स्थायी प्राध्यापकहरूबाट यस पदका लागि आशयपत्र माग गरेको हो।
त्रिविले हालै स्वीकृत गरेको ‘त्रिविको अन्तर्राष्ट्रियकरणसम्बन्धी निर्देशिका, २०२६’ अनुसार विभिन्न देशका विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरूसँग शैक्षिक सम्बन्ध विस्तार गर्न कन्ट्री फोकल पर्सन नियुक्त गर्न लागेको हो।
उपकुलपतिबाट नियुक्त हुने उक्त पद स्वयंसेवी तथा मानार्थ प्रकृतिको हुनेछ। नियुक्त हुने व्यक्तिको कार्यकाल प्रारम्भमा दुई वर्षको रहने त्रिविले जनाएको छ।
कन्ट्री फोकल पर्सनले सम्बन्धित देशका विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरूसँग त्रिविका पुराना सम्झौता तथा सहकार्यलाई सक्रिय बनाउने जिम्मेवारी पाउनेछन्। साथै, संयुक्त अनुसन्धान, विद्यार्थी तथा प्राध्यापक आदानप्रदान र शैक्षिक कार्यक्रम सञ्चालनका लागि सहजीकरण गर्नुपर्नेछ।
त्यस्तै, अन्तर्राष्ट्रिय अनुसन्धानका लागि आर्थिक स्रोत तथा सहयोग जुटाउने, विदेशी विश्वविद्यालयसँग संस्थागत सम्बन्ध विस्तार गर्ने र विदेशी विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयमा आकर्षित गर्न आवश्यक पहल गर्ने जिम्मेवारी पनि उनीहरूलाई दिइनेछ।
यस पदका लागि इच्छुक स्थायी प्राध्यापकहरूले आगामी मंसिर १० गतेभित्र अनलाइन गुगल फाराममार्फत आवेदन दिन सक्नेछन्। आवेदनसँगै आफ्नो अन्तर्राष्ट्रिय अनुभव, व्यक्तिगत विवरण र आगामी दुई वर्षमा गर्न सकिने काम समेटिएको ठोस कार्ययोजना पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
प्राप्त आवेदनमध्ये उम्मेदवारको अन्तर्राष्ट्रिय अनुभव, सम्बन्धित देशका विश्वविद्यालय तथा संस्थाहरूसँग रहेको पूर्वसम्पर्क र शैक्षिक सहकार्य विस्तार गर्न सक्ने क्षमताका आधारमा छनोट गरिने त्रिविले जनाएको छ।
कन्ट्री फोकल पर्सन नियुक्तिमार्फत त्रिभुवन विश्वविद्यालयले अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँगको सम्बन्धलाई संस्थागत र प्रभावकारी बनाउँदै अनुसन्धान, शैक्षिक आदानप्रदान तथा विश्वव्यापी शैक्षिक पहुँच विस्तार गर्ने अपेक्षा गरेको छ।