काठमाडौँ- शिक्षा क्षेत्रका सरोकारवालाले नेपाललाई शैक्षिक हबको रुपमा विकास गर्न जोड दिएका छन्। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को २७औँ वार्षिकोत्सवको अवसरमा राजधानीको एभरेष्ट होटलमा आयोजित कार्यक्रममा वक्ताहरूले नेपाललाई एजुकेशन हबको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका हुन्।
![](https://www.edusawal.com/uploads/editor/2023-09-01/183047989np saud.jpg)
कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले परामर्श व्यवसायीले थुप्रै चुनौतीको सामना गर्नुपरेको बताए। उनले भने,‘अहिले विद्यार्थी विदेश जाने दर पनि बढेको छ। यससँगै समस्या पनि बढेका छन्। समस्यालाई समाधान गर्दै व्यवसायी अघि बढ्नुपर्छ।’
![](https://www.edusawal.com/uploads/editor/2023-09-01/183152639rajendra baral.jpg)
कार्यक्रममा नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बरालले राज्यलाई यस व्यवसायको विषयमा जानकारी गराउन र आइपर्ने समस्या समाधान गर्न पनि शैक्षिक परामर्श व्यवसायीहरू नीतिगत तहदेखि कार्यान्वयनको तहसम्म मिलेर अघि बढ्न आवश्यक रहेको बताए।
![](https://www.edusawal.com/uploads/editor/2023-09-01/183535762sesh raj bhattrai.jpg)
यस्तै कार्यक्रममा बोल्दै इक्यान अध्यक्ष शेषराज भट्टराईले इक्यान परामर्श व्यवसायीहरूका साझा समस्या बोक्ने अग्रणी संस्थाका रूपमा स्थापित भएको र यसले आगामी दिनमा पनि आफ्नो उपस्थितिलाई प्रभावकारी बनाउदै लैजाने बताए।
वार्षिकोत्सव समारोहमा कि-नोट स्पीकरको रुपमा स्टान्डर्ड चार्टड बैँकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अनिरभन घोष दास्तीदार, राष्ट्रिय आविश्कार केन्द्रका महाविर पुन सहभागी थिए। पुनलाई इक्यानले १ लाख ५१ हजार सहयाेग गरेकाे थियाे।
![](https://www.edusawal.com/uploads/editor/2023-09-01/183016255mahabir pun sahayog.jpg)
यस्तै परामर्श व्यवसाय र नेपाललाई अन्तराष्ट्रियस्तरमा शैक्षिक हबको रुपमा विकास गर्न आवश्यक योजना निर्माणका विषयमा छलफल तथा अन्र्तक्रिया कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापा, नेपाल राष्ट्र बैँकका डेपुटी गभर्नर बमबहादुर मिश्र, नेकपा एमालेका प्रमुख सचेतक पूर्वमन्त्री पदम गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियार र इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे छलफलमा सहभागी थिए।
![](https://www.edusawal.com/uploads/editor/2023-09-01/183654874ecan day2.jpg)
कार्यक्रममा नेपालको समग्र शैक्षिक क्षेत्रको उन्नयन, शैक्षिक परामर्श व्यवसायको भूमिका, नेपाललाई अन्तराष्ट्रियस्तरमै शैक्षिक हब बनाउन आवश्यक नीति र योजनाका विषयमा छलफल गरिएको थियो।
इक्यानले आफ्नो २७औँ वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रमको आयोजना गरेको छ। इक्यानले मंगलबार बिहान ७ बजे देखि ९ बजे सम्म शैक्षिक परामर्श क्षेत्रसँग सम्बन्धित जनचेतना मुलक कार्यक्रम आयोजना गरेको थियाे।
इक्यनले भदौ ७ गते हार्दिक होटल बागबजारमा रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो। भदौ ८ मा शैक्षिक परामर्श क्षेत्रमा आवद्ध तथा यस व्यवसायसँगको सहकार्यमा रहने महिला ब्यवसायी तथा उद्यमशिलताहरूको साझा समस्या, अवसर तथा चुनौतीका सम्बन्धमा छलफल गरेको थियो।