अर्घाखाँची - लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यालयको दिवा खाजामा दूधजन्य परिकार राख्न आवश्यक रहेको बताएका छन्। अर्घाखाँची दुग्ध उद्योगको सोमवार अवलोकनको क्रममा मुख्यमन्त्री आचार्यले स्थानीय दूध र दुग्धजन्य पदार्थको खपतका लागि विद्यालय तहको दिवा खाजामा दुग्धजन्य उत्पादनलाई समेट्ने गरी प्रदेश सरकारले सहजीकरण गर्ने बताए।
‘प्रदेशको समृद्धिको आधार कृषि र पशुपालनलाई लिएका छौं, जस अन्तरगत दुग्धजन्य उत्पादनको बजारीकरणको लागि पनि सरकारले सहजीकरण गर्छ,’ मुख्यमन्त्री आचार्यले भने।
उनले विद्यालय तहको दिवा खाजामा दुग्धजन्य उत्पादनका परिकार हप्ताको एक दिन दिनेगरी कार्यक्रम बनाउने गरी काम गर्ने बताए। ‘यसको सुरुवात अर्घाखाँचीबाट गरेर प्रदेशका १०९ पालिकामा पुर्याउछौं,’ उनले भने।
खुला सिमानाबाट अवैध रुपमा भित्रिने दूध र दुग्धजन्य पदार्थमा कडाइ गरिनुपर्नेमा मुख्यमन्त्री आचार्यले जोड दिए। पाउडर दूधका लागि नेपालगञ्जमा उद्योग स्थापनाको लागि दुग्ध विकास संस्थानले बनाएको योजना अघि बढाउन संघीय सरकारलाई उनले आग्रह समेत गरे। दुग्ध उत्पादक किसानलाई लक्षित गरेर सरकारले प्रतिफलमा आधारित प्रति लिटर २ रुपैयाँ अनुदान दिंदै आएको मुख्यमन्त्री आचार्यले स्मरण गरे।
अर्घखाँची दुग्ध उत्पादन तथा बिक्री वितरण सहकारी संस्थाले सञ्चालन गरेको दुग्ध उद्योगमा एक सय ५४ किसान आबद्ध छन्। त्यहाँ दैनिक एक हजार पाँच सयदेखि दुई हजार लिटर दूध संकलन हुदै आएको छ।
उद्योगबाट दूधको प्रशोधन र बिक्री वितरण गरिंदै आएको र हाल दूधको बिक्री वितरणमा समस्या परेको सहकारी संस्थाका अध्यक्ष चन्द्रप्रसाद बञ्जाडेले जानकारी दिए । किसानले उत्पादन गर्ने दूधको सहज बजारीकरणमा तीन तहकै सरकारले सहयोग गर्नुपर्ने उनको माग छ।
विद्यालयको दिवा खाजा कार्यक्रममा दुग्धजन्य पदार्थ अनिवार्य समावेश गर्ने नीति सरकारले लिएको खण्डमा बजारीकरणमा देखिएको समस्या केही हदसम्म समाधान हुने र विद्यार्थीको स्वास्थ्य तथा पोषणमा पनि सुधार आउने उनले बताए।