मुस्ताङ– समुद्री सतहबाट ४ हजार ६१० मिटर उचाइमा रहेको नेपाल–चीन उत्तरी कोरलानाका क्षेत्रमा असोजमै बेमौसमी हिमपात भएको छ। बिहीबार रातिदेखि भएको हिमपातका कारण कोरलानाका क्षेत्र हिउँले सेताम्मे बनेको छ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार बिहीबारदेखि जिल्लाका विभिन्न क्षेत्रमा निरन्तर वर्षा भइरहेका बेला उपल्लो मुस्ताङस्थित कोरलानाका क्षेत्रमा हिमपात भएको हो।
हिमपातका कारण कोरलानाका क्षेत्रमा निकासी–पैठारीका सामान बोकेका कन्टेनर तथा अन्य ढुवानीका साधनको आवतजावतमा समस्या देखिएको छ। सामान्यतया हिउँदयाम सुरु हुने समयमा हिमपात हुने यस क्षेत्रमा यस वर्ष असोजमै हिउँ परेको हो।
हिमपातपछि उपल्लो मुस्ताङका सीमावर्ती क्षेत्रका डाँडाकाँडा हिउँले ढाकिएका छन्। कोरलानाका आसपास चिसो बढ्नुका साथै सडक आवागमनमा समेत प्रतिकूल प्रभाव परेको छ।
एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार कोरलानाका क्षेत्रमा हिमपात भइरहेका बेला लोमान्थाङ आसपासका बस्तीमा भने भारी वर्षा भएको छ। बस्तीभन्दा माथिका उच्च लेकमा समेत आंशिक हिमपात भइरहेको उनले बताए।
वर्षा र हिमपातसँगै उपल्लो मुस्ताङमा चिसो बढ्न थालेको छ। मौसममा आएको परिवर्तनले स्थानीय जनजीवनसँगै उच्च क्षेत्रमा हुने आवतजावत र ढुवानीमा समेत असर पार्न थालेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, मौसम विज्ञान विभाग र मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि लगातार चार दिनसम्म भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुनसक्ने पूर्वानुमान गरेका थिए।
मौसम प्रतिकूलताका कारण बाढी, पहिरो र नदी कटानबाट सडक अवरुद्ध हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङले काभ्रेभिरदेखि उपल्लो मुस्ताङसम्मको सडकमा यात्रा नगर्न आग्रह गरेको छ।
सम्भावित विपद् तथा क्षति न्यूनीकरणका लागि बिहीबार रातिदेखि चार दिनसम्म साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म रातिको समयमा यातायातका साधन सञ्चालनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी एकराज भण्डारीले जानकारी दिए।
यसैबीच, घरपझोङ गाउँपालिकाले कालीगण्डकी नदीमा पानीको सतह बढेर जोखिम निम्तिन सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। गाउँपालिकाले शुक्रबारदेखि माइकिङ गर्दै तटीय क्षेत्रका नागरिकलाई सावधानी अपनाउन सचेत गराएको छ।
लगातारको वर्षाका कारण मुस्ताङका पुराना ढुङ्गा र माटोबाट निर्मित परम्परागत घरहरूमा समेत जोखिम बढेको छ। वर्षा थप जारी रहेमा कमजोर संरचनामा क्षति पुग्न सक्ने भएकाले स्थानीय तह र प्रशासनले सावधानी अपनाउन आग्रह गरेका छन्।