काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक तथा विद्यालय कर्मचारीका माग राज्यको आर्थिक क्षमता र उपलब्ध स्रोतसाधनका आधारमा क्रमशः सम्बोधन गर्दै जाने बताएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले प्रारम्भिक बालविकास शिक्षक, विद्यालय सहायक कर्मचारी र विद्यालय सहयोगी कर्मचारीको पारिश्रमिकमा थप ५ हजार रुपैयाँ वृद्धि गरिएको जानकारी दिए।
उनले न्यून पारिश्रमिकमा काम गरिरहेका प्रारम्भिक बालविकास शिक्षक तथा विद्यालय कर्मचारीको आर्थिक अवस्थालाई ध्यानमा राखेर पारिश्रमिक वृद्धि गरिएको बताए।
‘शिक्षकका माग राज्यको आर्थिक क्षमताअनुसार क्रमशः सम्बोधन गर्दै जानेछौँ,’ मन्त्री पोखरेलले भने।
शिक्षक तथा विद्यालय कर्मचारीका विभिन्न माग सम्बोधन गर्दा सरकारको उपलब्ध स्रोतसाधन र राज्यको आर्थिक क्षमतालाई आधार बनाइने उनको भनाइ थियो।
शिक्षक दरबन्दी मिलान गरिँदै
मन्त्री पोखरेलले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि शिक्षक व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको बताए।
उनका अनुसार चालु आर्थिक वर्षमा देशभरका विद्यालयको समग्र अवस्था म्यापिङ गरी विद्यालयको आवश्यकता र विद्यार्थी संख्याका आधारमा शिक्षक दरबन्दी मिलान गर्ने तयारी भइरहेको छ।
विद्यालयमा आवश्यकताअनुसार शिक्षक उपलब्ध गराउने तथा शिक्षकको व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले दरबन्दी मिलान गर्न लागिएको उनले बताए।
स्थायी शिक्षक पदपूर्ति संघीय सरकारको जिम्मेवारी
मन्त्री पोखरेलले स्थायी शिक्षक पदपूर्ति संघीय सरकारको जिम्मेवारीमा रहेको स्पष्ट पारे।
त्यस्तै, करार शिक्षक नियुक्ति, शिक्षक सरुवा तथा दरबन्दी मिलानलगायतका शिक्षक व्यवस्थापनसम्बन्धी काम स्थानीय तहको जिम्मेवारीमा रहेको उनले बताए।
विद्यालय शिक्षाको गुणस्तर सुधारसँगै शिक्षक तथा विद्यालय कर्मचारीका सेवासुविधासम्बन्धी विषयलाई पनि उपलब्ध स्रोत र राज्यको आर्थिक क्षमताका आधारमा क्रमशः सम्बोधन गर्दै जाने सरकारको नीति रहेको मन्त्री पोखरेलले बताए।