काठमाडौँ- सिन्धुलीको सुनकोशी गाउँपालिका–३ स्थित श्री माध्यमिक विद्यालय गुठबजारका प्रधानाध्यापक विनोद न्यौपानेमाथि आफ्नै विद्यालयमा अध्ययनरत १४ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार प्रयास गरेको आरोप लागेको छ।
घटनापछि पीडित बालिकाको परिवारले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जाहेरी दिएको छ। आरोपित प्रधानाध्यापक भने फरार रहेको परिवारको दाबी छ। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।
पीडित परिवारका अनुसार घटना गत भदौ २८ गते तीजको दर खाने दिन साँझ भएको हो। त्यसबेला बालिकाका अभिभावक कामको सिलसिलामा घरबाहिर रहेको बताइएको छ।
परिवारका अनुसार साँझ करिब ७ बजे घरनजिकैको पसलमा सामान किन्न गएकी बालिकालाई प्रधानाध्यापक न्यौपानेले रोकेर अनुचित प्रस्ताव राख्नुका साथै जबर्जस्ती गर्ने प्रयास गरेका थिए।
बालिकाका बुबाले घटनाबारे प्रहरीमा जाहेरी दिइसकेको र प्रहरीले आरोपितको खोजी गरिरहेको बताए। उनका अनुसार प्रहरी आरोपितको घरमा पुगे पनि उनी नभेटिएको जानकारी पाएका छन्।
घटनाबारे बालिकाले आफूलाई प्रत्यक्ष रूपमा धेरै कुरा नभनेको उनका बुबाले बताए। घटनापछि परिवारमाथि कुनै दबाब नआएको पनि उनले जानकारी दिए।
पीडितका काकाले बालिकाले दिएको बयानअनुसार प्रधानाध्यापकले उनलाई १०० रुपैयाँ दिएको र ‘आज दाइहरूलाई नबोलाऊ, म तेरो घरमा आएर सुत्छु, भोलि सँगै विद्यालय जाने’ भन्दै अनुचित प्रस्ताव राखेको बताएका छन्।
उनका अनुसार त्यसपछि बालिका रुँदै घर पुगेकी थिइन्। परिवारका सदस्यले सोधपुछ गरेपछि बालिकाले प्रधानाध्यापकले आफूलाई यस्तो प्रस्ताव राखेको बताएको परिवारको भनाइ छ।
स्थानीयस्तरमा आरोपितको विगतबारे पनि विभिन्न कुरा सुन्नमा आएको परिवारले बताए। यद्यपि ती दाबीहरू स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छन्।
प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ
घटनाबारे जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डीएसपी विजय श्रेष्ठले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए। उनका अनुसार आरोपित प्रधानाध्यापकको खोजीसमेत भइरहेको छ।
घटनापछि विद्यालय व्यवस्थापन समितिले न्यौपानेलाई प्रधानाध्यापक पदबाट हटाएको छ। उनको स्थानमा वरिष्ठ शिक्षक भीमप्रसाद आचार्यलाई कार्यवाहक प्रधानाध्यापकको जिम्मेवारी दिइएको विद्यालयले जनाएको छ।
घटनाबारे प्रहरी अनुसन्धान जारी रहेकाले आरोप पुष्टि हुन बाँकी छ।
