मकवानपुर- भारी वर्षा र प्रतिकूल मौसमका कारण शिक्षक तथा विद्यार्थीको आवतजावतमा जोखिम बढ्न सक्ने भन्दै मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले पालिकाभित्रका सबै विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ।
गाउँपालिकाको शिक्षा शाखाले सूचना जारी गर्दै असोज ८ र ९ गते दुई दिन सबै विद्यालयमा बिदा दिने जनाएको हो।
जल तथा मौसम विज्ञान विभागले असोज ८ देखि १२ गतेसम्म बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेपछि गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
शिक्षा शाखा प्रमुख धर्मानन्द पन्तका अनुसार प्रधानाध्यापकहरूको बैठकमा मौसमका कारण शिक्षक तथा विद्यार्थीको आवतजावत र सुरक्षामा जोखिम बढ्न सक्ने निष्कर्ष निकालिएको थियो।
गाउँपालिकाले दुई दिन विद्यालय बन्द हुँदा प्रभावित हुने कार्यदिनलाई वार्षिक शैक्षिक कार्यतालिकामा रहेका अन्य बिदासँग समायोजन गर्न निर्देशन दिएको छ।
तर बिदा समायोजन गर्दा विद्यार्थीको सिकाइ उपलब्धि र विद्यालयले पूरा गर्नुपर्ने वार्षिक कार्यदिनमा असर नपर्ने गरी व्यवस्था मिलाउन विद्यालय प्रशासनलाई भनिएको छ।
यस्तै, मौसमको अवस्था र स्थानीय परिस्थितिलाई निरन्तर मूल्यांकन गर्दै विद्यालयका भौतिक संरचना, शिक्षक तथा विद्यार्थीको सुरक्षाका लागि आवश्यक सतर्कता अपनाउन सबै विद्यालयलाई आग्रह गरिएको छ।
गाउँपालिकाले मौसम थप प्रतिकूल बनेमा स्थानीय परिस्थितिअनुसार आवश्यक थप निर्णय लिन सकिने जनाएको छ।