काठमाडौँ- शिक्षक, शैक्षिक अभियन्ता तथा समाजसेवी रमेशबाबु भट्टराई पछिल्लो समय शिक्षकका हकहित, शिक्षा सुधार तथा सामाजिक सेवाका गतिविधिमा सक्रिय देखिएका छन्।
शिक्षा क्षेत्रका समस्या सार्वजनिक बहसमा ल्याउनेदेखि विपत्तिमा परेका शिक्षक तथा नागरिकलाई सहयोग गर्ने गतिविधिमा समेत भट्टराई संलग्न हुँदै आएका छन्।
गत चैतमा राजधानी केन्द्रित शिक्षक आन्दोलनका क्रममा घाइते भएका शिक्षकहरूको उपचारमा उनले व्यक्तिगत रूपमा सहयोग गरेका थिए। अस्पतालमै पुगेर घाइते शिक्षकहरूको अवस्थाबारे जानकारी लिँदै उपचारका लागि आर्थिक सहयोगसमेत गरेको उनको पक्षले जनाएको छ।
आन्दोलनका क्रममा घाइते शिक्षकहरूको उपचारमा सहयोग आवश्यक देखिएपछि व्यक्तिगत रूपमा सहयोग गरेको भट्टराईको भनाइ छ। शिक्षक आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारमा प्रत्यक्ष रूपमा जोडिनुलाई उनले शिक्षकप्रतिको सामाजिक दायित्वका रूपमा लिएको बताउँदै आएका छन्।
यसैबीच, प्राकृतिक विपत्तिमा परेका शिक्षकका लागि पनि उनले सहयोगको घोषणा गरेका छन्।
गत भदौ १० गते रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित तथा घरबारविहीन भएका शिक्षकलाई शिक्षक सेवा आयोगको तयारीका लागि निःशुल्क कक्षा उपलब्ध गराउने उनले घोषणा गरेका हुन्।
सामाजिक सञ्जालमार्फत उनले प्रमाणसहित सम्पर्क गर्ने बाढीपीडित शिक्षकलाई युनियन एजुकेसनमार्फत शिक्षक सेवा आयोगको तयारी कक्षा निःशुल्क उपलब्ध गराउने जानकारी दिएका छन्। भट्टराई युनियन एजुकेसनका निर्देशक हुन्।
विपत्तिका कारण आर्थिक तथा भौतिक रूपमा प्रभावित शिक्षकलाई तत्काल राहतसँगै भविष्यको रोजगारी तथा करिअर निर्माणमा समेत सहयोग पुगोस् भन्ने उद्देश्यले निःशुल्क तयारी कक्षाको व्यवस्था गरिएको उनको भनाइ छ।
भट्टराईले शिक्षा क्षेत्रमा शिक्षकको पेसागत विकास, सेवासुविधा, प्रोत्साहन भत्ता, सरुवा व्यवस्था तथा शिक्षक पेसाको सामाजिक सम्मानलगायतका विषयमा पनि सार्वजनिक रूपमा आवाज उठाउँदै आएका छन्।
शिक्षकका समस्या र अधिकारका विषयमा बहस सिर्जना गर्नुका साथै विपत्तिमा परेका शिक्षकलाई शैक्षिक अवसर उपलब्ध गराउने प्रयासलाई उनको पछिल्लो सामाजिक सक्रियताको एक पक्षका रूपमा हेरिएको छ।
भट्टराईले शिक्षा क्षेत्रमा दलीय राजनीतिको प्रभाव बढेको भन्दै आफू स्वतन्त्र रूपमा शिक्षा सुधार तथा सामाजिक सेवाका गतिविधिमा केन्द्रित रहने बताउँदै आएका छन्।