काठमाडौँ- ललितपुरको महांकाल गाउँपालिका–४ स्थित बाघभैरव माध्यमिक विद्यालयका प्रधानाध्यापक तुलप्रसाद तिमल्सिनाले सक्रिय राजनीतिमा लाग्ने निर्णय गर्दै विद्यालय व्यवस्थापन समितिमा राजीनामा दिएका छन्।
२०८३ असोज ६ गतेको मितिमा लेखिएको राजीनामापत्रमा तिमल्सिनाले महांकाल गाउँपालिकाको दोस्रो पालिका अधिवेशनमार्फत राजनीतिक भूमिकामा रहने निर्णय गरेको उल्लेख गरेका छन्। उनले विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमक्ष राजीनामा स्वीकृत गर्न अनुरोध गरेका हुन्।
तिमल्सिना हालै नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महांकाल गाउँपालिकाको दोस्रो पालिका अधिवेशनबाट सर्वसम्मत गाउँपालिका सभापतिमा चयन भएका छन्।
उनको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएपछि स्थानीय स्तरमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
यही दिन शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको राजनीतिक गतिविधिमाथि निगरानी कडा बनाउन देशभरका ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन जारी गरेको छ।
मन्त्रालयका अनुसार शिक्षा नियमावली, २०५९ को नियम १३३(१)(ग) विपरीत हुने गतिविधिबारे स्थानीय तहसँग समन्वय गरी आचारसंहिता उल्लंघन गर्ने शिक्षकविरुद्ध आवश्यक प्रक्रिया अघि बढाइनेछ।
उक्त निर्देशनमा नियम १३७(ग) र नियम १४३ बमोजिम आवश्यक कारबाहीको प्रक्रिया अपनाउन सम्बन्धित निकायलाई भनिएको छ।
उपसचिव लिलानाथ पोखरेलद्वारा हस्ताक्षरित निर्देशन २०८३ असोज ६ गतेको मन्त्रालयीय निर्णयअनुसार जारी भएको हो।