काठमाडौँ– विद्यालयमा अध्यापनरत शिक्षक तथा कर्मचारी राजनीतिक दलका गतिविधिमा सक्रिय हुन थालेपछि सरकारले उनीहरूको राजनीतिक संलग्नतामाथि निगरानी बढाउँदै कारबाही प्रक्रिया अघि बढाएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले देशभरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी राजनीतिक दलका गतिविधिमा संलग्न भए–नभएको निगरानी गर्न र त्यस्तो संलग्नता पुष्टि भए प्रचलित कानुनअनुसार कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो।
शिक्षक तथा कर्मचारी राजनीतिक गतिविधिमा सहभागी भएको विषय सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि शिक्षामन्त्री सस्मित पोखरेलले त्यस्ता गतिविधिमाथि निगरानी बढाउन निर्देशन दिएका थिए।
मन्त्रालयको निर्देशनपछि शिक्षा विकास तथा समन्वय एकाइ बैतडीले जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गर्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी राजनीतिक दलका कार्यक्रममा सहभागी भए–नभएको निगरानी गर्न आग्रह गरेको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका समाचार तथा सूचनाका आधारमा केही शिक्षक राजनीतिक दलका कार्यक्रममा सहभागी भएको देखिएको भन्दै एकाइले त्यस्ता गतिविधिमाथि निगरानी बढाउन स्थानीय तहलाई आग्रह गरेको हो।
शिक्षा ऐन तथा नियमावलीमा तोकिएको शिक्षक आचरण र मापदण्ड तथा नेपाल सरकारका पछिल्ला निर्देशनविपरीत गतिविधि गरेको पाइएमा सम्बन्धित शिक्षक तथा कर्मचारीमाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही गर्न पनि एकाइले निर्देशन दिएको छ।
यसैबीच शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुलीले दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका र तीनपाटन गाउँपालिकालाई छुट्टाछुट्टै पत्राचार गर्दै सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी राजनीतिक दलका कार्यक्रममा सक्रिय रूपमा सहभागी भएको पाइएमा आवश्यक कारबाही गर्न निर्देशन दिएको छ।
एकाइ प्रमुख दिनेशप्रसाद देवकोटाद्वारा जारी पत्रमा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीका आधारमा चार शिक्षक तथा कर्मचारी राजनीतिक गतिविधिमा संलग्न भएको उल्लेख गरिएको छ। पत्रमा प्रेमप्रसाद भट्टराई, सर्वेश्वर कोइराला, अर्जुनकुमार गौतम र यतिराज तिमल्सिनाको नाम उल्लेख छ।
शिक्षा नियमावली, २०५९ (दसौँ संशोधनसहित) मा उल्लिखित व्यवस्थाविपरीत गतिविधि गरेको पाइएमा सम्बन्धित शिक्षक तथा कर्मचारीमाथि प्रचलित कानुनबमोजिम कारबाही गरी त्यसको जानकारी तत्काल एकाइलाई गराउन स्थानीय तहलाई अनुरोध गरिएको छ। रासस