देउखुरी- लुम्बिनी प्रदेशअन्तर्गत शिक्षकको २५ प्रतिशत आन्तरिक प्रतियोगितात्मक बढुवाका लागि अन्तर्वार्ता कार्यक्रम सार्वजनिक भएको छ।
शिक्षा तथा सामाजिक विकास निर्देशनालय, राप्ती उपत्यका देउखुरीले शिक्षक सेवा आयोग, सानोठिमी भक्तपुरबाट प्रकाशित सूचनाका आधारमा लिखित परीक्षामा सफल उम्मेदवारहरूको अन्तर्वार्ता कार्यक्रम सार्वजनिक गरेको हो।
निर्देशनालयका अनुसार निम्न माध्यमिक तह द्वितीय श्रेणी तथा प्राथमिक तह प्रथम र द्वितीय श्रेणीका पदमा आन्तरिक प्रतियोगितात्मक बढुवाका लागि लिखित परीक्षामा सफल उम्मेदवारहरूको अन्तर्वार्ता सञ्चालन गरिनेछ।
निर्धारित कार्यक्रमअनुसार असोज १९ गते बिहान ८ बजेदेखि निम्न माध्यमिक तह द्वितीय श्रेणीका सबै सफल उम्मेदवारहरूको अन्तर्वार्ता सञ्चालन हुनेछ।
त्यस्तै, असोज १९ गते दिउँसो २ बजेदेखि प्राथमिक तह प्रथम श्रेणीका सबै सफल उम्मेदवारहरूको अन्तर्वार्ता हुने निर्देशनालयले जनाएको छ।
सोही दिन प्राथमिक तह द्वितीय श्रेणीअन्तर्गत पाल्पा, प्युठान र रुकुम पूर्व जिल्लाका लिखित परीक्षामा सफल उम्मेदवारहरूको अन्तर्वार्ता पनि दिउँसो २ बजेदेखि सञ्चालन हुनेछ।
यस्तै, असोज २० गते बिहान ८ बजेदेखि प्राथमिक तह द्वितीय श्रेणीअन्तर्गत रुपन्देही, बर्दिया, कपिलवस्तु, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रोल्पा, दाङ र अर्घाखाँची जिल्लाका सफल उम्मेदवारहरूको अन्तर्वार्ता सञ्चालन हुने भएको छ।
निर्देशनालयका अनुसार सबै अन्तर्वार्ता शिक्षा तथा सामाजिक विकास निर्देशनालय, राप्ती उपत्यका देउखुरी, नेपालमा सञ्चालन हुनेछ।
अन्तर्वार्तामा सहभागी हुने उम्मेदवारहरूले शिक्षक सेवा आयोगले तोकेबमोजिमका आवश्यक सम्पूर्ण कागजात साथमा ल्याउनुपर्नेछ।
उम्मेदवारहरूले कागजातको सक्कल तथा प्रमाणित प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्ने निर्देशनालयले जनाएको छ।
निर्देशनालयले लिखित परीक्षामा सफल भएका सम्बन्धित सबै उम्मेदवारलाई तोकिएको मिति, समय र स्थानमा आवश्यक कागजातसहित अनिवार्य रूपमा उपस्थित हुन अनुरोध गरेको छ।
