काठमाडौँ- नेपाल शिक्षक संगठन (एनटीओ) केन्द्रीय समितिले अस्थायी प्रकृतिमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य रूपमा प्रोत्साहन भत्ता उपलब्ध गराउन सरकारसँग माग गरेको छ।
संगठनले सार्वजनिक गरेको अपिलमार्फत समान काम गर्ने श्रमिकलाई समान ज्याला तथा सुविधा उपलब्ध गराउने नीति कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको हो।
एनटीओले प्रोत्साहन भत्तामा सबै श्रमिकको समान पहुँच सुनिश्चित गर्नुपर्ने भन्दै अस्थायी प्रकृतिका शिक्षक तथा कर्मचारीलाई विभेद नगरी समान सुविधा उपलब्ध गराउन आग्रह गरेको छ।
संगठनका अनुसार राहत शिक्षक, साविक उच्च माध्यमिक तहका शिक्षक, प्राविधिक धारका शिक्षक, संघीय शिक्षण सिकाइ अनुदानअन्तर्गत कार्यरत शिक्षक, बालविकास शिक्षक तथा करार शिक्षकलाई प्रोत्साहन भत्ताको व्यवस्था गरिनुपर्छ।
त्यस्तै, विद्यालयमा कार्यरत लेखापाल तथा कर्मचारी, प्रतिष्ठानमा कार्यरत शिक्षक तथा कर्मचारी र स्थानीय तथा प्रदेश सरकारको अनुदानमा कार्यरत शिक्षक तथा कर्मचारीलाई समेत उक्त सुविधा उपलब्ध गराउनुपर्ने संगठनको माग छ।
एनटीओले एउटै प्रकृतिको काम गर्ने शिक्षक तथा कर्मचारीबीच सुविधामा विभेद गर्न नहुने जनाएको छ। समान कामको समान ज्याला र प्रोत्साहन भत्ताको सिद्धान्तलाई व्यवहारमै लागू गर्नुपर्ने संगठनको जोड छ।
संगठनले अस्थायी प्रकृतिमा कार्यरत सबै शिक्षक तथा कर्मचारीको योगदानलाई समान रूपमा मूल्यांकन गर्दै प्रोत्साहन भत्तासहितका सुविधा सुनिश्चित गर्न सम्बन्धित निकायसँग आवश्यक निर्णय लिन आग्रह गरेको छ।