काठमाडाैँ- नेपालमा बायोटेक्नोलोजी अर्थात् जैविक प्रविधिको अध्ययन, अनुसन्धान र रोजगारीको सम्भावना पछिल्लो समय बढ्दै गएको छ। मेडिकल, कृषि, खाद्य, वातावरण तथा औद्योगिक क्षेत्रसम्म यसको प्रयोग विस्तार भइरहेको छ। नेपालमा यसको अध्ययनको अवस्था, करियरको सम्भावना, पाठ्यक्रम, अनुसन्धान तथा आवश्यक पूर्वाधारका विषयमा हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजका भाइस प्रिन्सिपल दिलीप भट्टराईसँग ईडियूसवालले गरेको कुराकानी :
बायोटेक्नोलोजी भनेको के हो? विद्यार्थीले यो विषय किन पढ्ने?
बायोटेक्नोलोजीलाई नेपालीमा जैविक प्रविधि भनिन्छ। यो एप्लिकेसनमा आधारित बायोलोजी हो। बायोलोजिकल साइन्समा यसले बहुविषयगत दृष्टिकोणबाट काम गर्छ।
बायोटेक्नोलोजीसँग मेडिकल साइन्स, एग्रिकल्चर साइन्स, वातावरण विज्ञान, खाद्य तथा औद्योगिक विज्ञानलगायत विभिन्न क्षेत्र जोडिएका छन्। जीवित प्रणाली वा जीवित कोषहरूको प्रयोग गरेर नयाँ प्रक्रिया विकास गर्ने, उत्पादन तथा सेवा विकास गर्ने वा कुनै समस्याको समाधान निकाल्ने विषय नै बायोटेक्नोलोजी हो।
नेपालमा यसको अध्ययन–अध्यापन सुरु भएको केही दशक भइसकेको छ। हिमालयन ह्वाइटहाउस कलेजले पनि पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी लामो समयदेखि स्नातक तहमा बायोटेक्नोलोजी अध्यापन गराउँदै आएको छ।
पछिल्लो समय विद्यार्थीहरू बायोटेक्नोलोजीतर्फ किन आकर्षित भइरहेका छन्?
सुरुवाती समयमा बायोटेक्नोलोजी के हो र यसलाई किन पढ्ने भन्ने विषयमा विद्यार्थी तथा अभिभावकमा पर्याप्त जानकारी थिएन। प्लस टुमा बायोलोजी पढेका अधिकांश विद्यार्थीको प्राथमिकता मेडिकल साइन्स हुने गरेको थियो।
तर, विकसित देशहरूमा बायोटेक्नोलोजीको अनुसन्धान र विकास तीव्र रूपमा अगाडि बढेपछि नेपालमा पनि यसको आवश्यकता र महत्वबारे बुझाइ बढ्दै गएको छ। अहिले विद्यार्थीहरूमा कुन विषयको कस्तो महत्व र करियर सम्भावना छ भन्ने जानकारी पहिलेभन्दा धेरै छ।
त्यसैले मेडिकल साइन्ससँगै बायोटेक्नोलोजी पनि राम्रो करियर विकल्प बन्न सक्छ भन्ने बुझाइ विकास भएको छ। अहिले धेरै विद्यार्थीहरू बायोटेक्नोलोजीलाई वैकल्पिक विषयका रूपमा मात्र होइन, आफ्नै करियरका रूपमा रोजेर अध्ययन गर्न आउन थालेका छन्।
कस्ता विद्यार्थीहरू बायोटेक्नोलोजी अध्ययन गर्न बढी आकर्षित हुन्छन्?
मुख्य रूपमा प्लस टुमा बायोलोजी पढेका विद्यार्थीहरू यसतर्फ आउने गरेका छन्। पछिल्लो समय विश्वविद्यालयले अन्य शैक्षिक पृष्ठभूमिका विद्यार्थीका लागि पनि केही बाटो खुला गरेको छ।
तर करिब ९० प्रतिशत विद्यार्थी प्लस टुमा बायोलोजी पढेका हुन्छन्। एग्रिकल्चर साइन्स तथा एप्लाइड साइन्स पढेका विद्यार्थीहरू पनि यस विषयमा आकर्षित हुन्छन्। मेडिकल साइन्स अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि पनि बायोटेक्नोलोजी रोजाइको विषय बन्दै गएको छ।
बायोटेक्नोलोजी पढ्न चाहने विद्यार्थीका लागि भर्नाको मापदण्ड के छ?
हालको व्यवस्थाअनुसार न्यूनतम दुई जीपीए वा त्यसभन्दा बढी जीपीए ल्याएका विद्यार्थीले भर्ना हुन पाउने व्यवस्था छ।
त्यसैगरी प्रतिस्पर्धात्मक परीक्षा लिएर छात्रवृत्ति दिने व्यवस्था पनि छ। नेपाल सरकारको छात्रवृत्ति अन्तर्गत केही विद्यार्थी छात्रवृत्तिमा अध्ययन गर्न पाउँछन्। अन्य विद्यार्थीका लागि सम्बन्धित कलेज तथा विश्वविद्यालयको भर्ना प्रणालीअनुसार प्रक्रिया अघि बढ्छ।
नेपालमा कुन–कुन विश्वविद्यालयमा बायोटेक्नोलोजी पढाइ हुन्छ?
नेपालमा स्नातक तहमा बायोटेक्नोलोजी अध्यापन गराउने प्रमुख विश्वविद्यालयमध्ये काठमाडौं विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालय रहेका छन्।
हामी पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत बीटेक इन बायोटेक्नोलोजी कार्यक्रम सञ्चालन गर्छौं। यस कार्यक्रममा ४८ वटा सिट छन्। छात्रवृत्तिका लागि पनि निश्चित सिटको व्यवस्था गरिएको छ।
बायोटेक्नोलोजी पढेपछि विद्यार्थीका लागि रोजगारीका क्षेत्रहरू के–के छन्?
बायोटेक्नोलोजीको सबैभन्दा ठूलो विशेषता भनेको यसको क्षेत्र निकै फराकिलो हुनु हो। स्नातक तह पूरा गरेपछि विद्यार्थीले विभिन्न क्षेत्रमा काम गर्न सक्छन्। मेडिकल क्षेत्रमा डायग्नोस्टिक सेन्टर, भ्याक्सिन उद्योग, अस्पतालका रिसर्च युनिट तथा फार्मास्युटिकल उद्योगमा काम गर्न सकिन्छ।
त्यसैगरी कृषि क्षेत्रमा विभिन्न अनुसन्धान संस्थामा काम गर्न सकिन्छ। बायोफर्टिलाइजर, बायोपेस्टिसाइड तथा टिस्यु कल्चर प्रविधिमार्फत बिरुवा, बेर्ना र बीउ उत्पादनमा पनि अवसर छन्। नेपालमा आलु, केरा, अलैँची, बाँसलगायतका क्षेत्रमा टिस्यु कल्चर प्रविधिको प्रयोग भइरहेको छ।
वातावरणीय क्षेत्रमा बायोटेक्नोलोजीको भूमिका कस्तो छ?
वातावरणीय क्षेत्र पनि बायोटेक्नोलोजीका लागि निकै ठूलो सम्भावना भएको क्षेत्र हो। फोहोर व्यवस्थापन, ठोस तथा तरल फोहोरको व्यवस्थापन, बायोडिग्रेडेबल प्लास्टिक, बायोडिजेल र बायोफ्युलजस्ता क्षेत्रमा अनुसन्धान तथा उत्पादन विकास गर्न सकिन्छ। यी क्षेत्रमा अनुसन्धान गरेर नयाँ उत्पादन र सेवा विकास गर्ने अवसर बायोटेक्नोलोजीका विद्यार्थीलाई हुन्छ।
नेपालमा बायोटेक्नोलोजी विषय अध्ययन गरेका विद्यार्थीको भविष्यलाई तपाईंले कसरी हेर्नुभएको छ?
बायोटेक्नोलोजी अत्यन्तै महत्वपूर्ण विषय हो। नेपाल जैविक विविधताले सम्पन्न देश भएकाले यहाँ धेरै अनुसन्धान गर्न बाँकी छ र सम्भावना पनि धेरै छ।
विश्वका विकसित मुलुकहरूले बायोटेक्नोलोजीको प्रयोगबाट जैविक क्षेत्रमा ठूलो प्रगति गरिसकेका छन्। नेपालमा भने अझै नीतिगत अवरोध, अनुसन्धानका लागि आवश्यक पूर्वाधार तथा संस्थाबीचको सहकार्यका क्षेत्रमा सुधार आवश्यक छ।
सरकारले अनुसन्धान संस्था, विश्वविद्यालय र उद्योगबीच सहकार्यको वातावरण बनाउन सकेमा बायोटेक्नोलोजीको सम्भावना निकै ठूलो छ।
नेपालमा बायोटेक्नोलोजी अनुसन्धानका लागि मुख्य चुनौती के छन्?
बायोटेक्नोलोजी पूर्ण रूपमा अनुसन्धानमा आधारित विषय हो। यसको प्रयोगशाला स्थापना तथा सञ्चालन महँगो हुन्छ। विभिन्न रसायन, रिएजेन्ट र अत्याधुनिक उपकरण आवश्यक पर्छन्। कलेज वा निजी संस्थाले आफ्नो क्षमताअनुसार प्रयोगशाला सुविधा उपलब्ध गराउन सक्छन्, तर उच्चस्तरीय अनुसन्धानका लागि सबै परीक्षण एउटै संस्थाभित्र सम्भव हुँदैन।
कतिपय अवस्थामा विद्यार्थी वा अनुसन्धानकर्ताले नमुना विदेश पठाएर परीक्षण गराउनुपर्ने अवस्था पनि छ। त्यसैले सरकारी अनुसन्धान प्रयोगशालाले विद्यार्थी र अनुसन्धानकर्तालाई आवश्यक परीक्षण सुविधा उपलब्ध गराउन सके राम्रो हुन्छ।
नेपालमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालयका विभिन्न प्रयोगशाला तथा अन्य अनुसन्धान संस्थाहरू छन्। यस्ता संस्थाबीच सहकार्य अझै बढाउन आवश्यक छ।
अनुसन्धानका लागि सरकारको भूमिका कस्तो हुनुपर्छ?
अनुसन्धान निकै महँगो विषय हो। राज्य तथा फन्डिङ एजेन्सीबाट पर्याप्त सहयोग नहुने हो भने सामान्य स्तरको अनुसन्धान त गर्न सकिन्छ, तर उद्योगमा प्रयोग हुने नयाँ उत्पादन तथा सेवासम्म पुग्ने रूपान्तरणकारी अनुसन्धान गर्न कठिन हुन्छ। त्यसैले अनुसन्धानका लागि पर्याप्त फन्डिङ, सीड फन्ड, प्रोत्साहन र सहकार्यको वातावरण आवश्यक छ।
विश्वविद्यालय अनुदान आयोग र नास्ट जस्ता संस्थाले अनुसन्धानका लागि केही फन्डिङ गरिरहेका छन्। तर बायोटेक्नोलोजीको आवश्यकताका हिसाबले अझै पर्याप्त छैन। विद्यार्थीहरूलाई अनुसन्धानकर्ता बनाएर विकास गर्न सकेमा नेपालमा बायोटेक्नोलोजीको भविष्य अझ राम्रो बन्न सक्छ।
विदेशमा अध्ययन तथा अनुसन्धान गरिरहेका नेपाली विद्यार्थीको ज्ञान नेपालमा कसरी उपयोग गर्न सकिन्छ?
अहिले नेपाली विद्यार्थीहरू विश्वका राम्रा विश्वविद्यालयमा अध्ययन तथा अनुसन्धान गरिरहेका छन्। उनीहरूले राम्रो अनुसन्धान गरिरहेका छन् र अन्तर्राष्ट्रिय स्तरमा राम्रो उपलब्धि हासिल गरिरहेका छन्।
तर उनीहरूले प्राप्त गरेको ज्ञान र सीपको सदुपयोग नेपालमै गर्न सक्ने वातावरण निर्माण गर्नु आवश्यक छ। त्यसका लागि नेपालमा आवश्यक पूर्वाधार, अनुसन्धानको अवसर र रोजगारीको वातावरण बनाउनुपर्छ।
बायोटेक्नोलोजीको स्कोप विकसित देशहरूमा तीव्र रूपमा बढिरहेको छ। भविष्यमा जैविक विज्ञानमा ठूलो विकास हुने क्षेत्रमध्ये बायोटेक्नोलोजी पनि प्रमुख हो।
हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजले बायोटेक्नोलोजीका विद्यार्थीलाई कस्तो सुविधा र एक्सपोजर दिइरहेको छ?
हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजले विद्यार्थीलाई गुणस्तरीय शिक्षा तथा आवश्यक प्रयोगशाला सुविधा उपलब्ध गराउँदै आएको छ।
बायोटेक्नोलोजीका विद्यार्थीका लागि हाम्रो प्रयोगशाला राम्रोसँग सुसज्जित छ। विश्वविद्यालयको पाठ्यक्रममा तोकिएका प्रयोगात्मक कक्षा तथा प्रोजेक्ट वर्क सञ्चालन हुन्छन्।
हामी निरन्तर सुधारमा विश्वास गर्छौं। विद्यार्थीले अनुसन्धान गर्न आवश्यक सुविधा उपलब्ध गराउने प्रयास गरेका छौँ। तर बायोटेक्नोलोजीको अनुसन्धान एउटै संस्थाले मात्र गर्न सक्दैन। त्यसैले अन्य अनुसन्धान संस्था तथा सरकारी प्रयोगशालासँग सहकार्य आवश्यक छ।
विद्यार्थीले कलेजभन्दा बाहिरका प्रयोगशाला तथा अनुसन्धान संस्थाको सुविधा कसरी उपयोग गर्न सक्छन्?
बायोटेक्नोलोजी अनुसन्धानमा अन्तर–संस्थागत सहकार्य अत्यन्त आवश्यक छ। केही उच्चस्तरीय परीक्षणका लागि विद्यार्थीले बाह्य प्रयोगशालाको सुविधा लिनुपर्ने हुन्छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय प्रयोगशालालगायतका संस्थासँग सहकार्य गर्न सकिन्छ। सरकारले यस्ता सुविधा विद्यार्थी तथा अनुसन्धानकर्तालाई सहुलियतमा उपलब्ध गराउन सके अनुसन्धान अझ प्रभावकारी बन्न सक्छ।
बायोटेक्नोलोजीको पाठ्यक्रम कत्तिको समयसापेक्ष छ?
नेपालको सन्दर्भमा बायोटेक्नोलोजीको पाठ्यक्रमलाई समयअनुकूल बनाउने प्रयास भइरहेको छ। पूर्वाञ्चल विश्वविद्यालयले हालै बायोटेक्नोलोजीको पाठ्यक्रम अपग्रेड गरेको छ।
नयाँ पाठ्यक्रम तयार गर्दा विश्वविद्यालयका प्राज्ञिक व्यक्ति तथा उद्योग क्षेत्रका विज्ञलाई समेत समेटिएको छ। त्यसैले अहिलेको पाठ्यक्रम बजार तथा उद्योगको आवश्यकतासँग जोडिने प्रयास गरिएको छ।
यसैको परिणामस्वरूप यहाँ अध्ययन गरेका विद्यार्थीहरू अन्तर्राष्ट्रिय स्तरका विश्वविद्यालयमा मास्टर्स, पीएचडी तथा पोस्टडक्टोरल अनुसन्धानका लागि समेत जाने गरेका छन्।
अन्त्यमा बायोटेक्नोलोजी पढ्न चाहने विद्यार्थी तथा अभिभावकलाई तपाईंको सुझाव के छ?
बायोटेक्नोलोजी अहिले विश्वमै उच्च माग भएको विषय हो। यसको आवश्यकता बढ्दै जाँदा नेपालजस्तो विकासशील देशमा यसको सम्भावना अझ धेरै छ।
कोभिड–१९ पछि भ्याक्सिन विकास, पीसीआर परीक्षण तथा डायग्नोस्टिक क्षेत्रमा बायोटेक्नोलोजीको महत्त्व हामीले अझ स्पष्ट रूपमा देख्यौँ। कृषि, खाद्य, वातावरण, स्वास्थ्य तथा औद्योगिक क्षेत्रमा नेपालमा अझै धेरै काम गर्न बाँकी छ। त्यसैले अनुसन्धानमा आधारित प्राविधिक विषय अध्ययन गर्न चाहने विद्यार्थीका लागि बायोटेक्नोलोजी एउटा महत्वपूर्ण क्षेत्र हो।
विद्यार्थी र अभिभावकलाई म प्राविधिक तथा अनुसन्धानमुखी विषय अध्ययन गर्न सुझाव दिन चाहन्छु। बायोटेक्नोलोजी अध्ययनपछि विद्यार्थी अनुसन्धानमा अघि बढ्न सक्छन्, अनुसन्धानबाट नयाँ ज्ञान तथा उत्पादन विकास गर्न सक्छन् र त्यसबाट देश तथा विश्वलाई समेत फाइदा पुग्न सक्छ।
बायोटेक्नोलोजीमा रुचि राख्ने विद्यार्थीले सम्बन्धित कलेज तथा विश्वविद्यालयमा गएर पाठ्यक्रम, प्रयोगशाला, अनुसन्धान सुविधा र करियरका सम्भावनाबारे बुझेर मात्र निर्णय गर्नु उपयुक्त हुन्छ।