काठमाडौँ - क्याम्ब्रिज विश्वविद्यालयमा आयोजना हुने ग्लोबल लिडरशिप एण्ड बिजनेस सर्टिफिकेसन कार्यक्रममा नेपालका राजन श्रेष्ठ चयन भएका छन्। नेपालका उदाउँदा युवा नेतृत्वकर्ता तथा समाजिक अभियन्ता श्रेष्ठलाई युनिभर्सिटी अफ क्याम्ब्रिज, बेलायतको क्लेयर कलेजले २०२५ ग्लोबल लिडरशिप एण्ड बिजनेस सर्टिफिकेसन कार्यक्रममा आंशिक छात्रवृत्तिसहितको प्रतिनिधिको रूपमा चयन गरिएको हाे।
उक्त ग्लोबल लिडरशिप कार्यक्रममा अगस्ट २६ देखि ३० सम्म सञ्चालन हुने भएकाे छ। श्रेष्ठको यस अन्तर्राष्ट्रिय उपलब्धिले नेपाली शिक्षा तथा युवा नेतृत्व क्षेत्रका लागि गौरवको विषय बनेको छ। उनले विश्वका विभिन्न देशका व्यवसायिक विशेषज्ञ, उद्यमी तथा नेतृत्वकर्ताहरूसँग अन्तरक्रिया गर्ने अवसर पाउनु नेपालको लागि उल्लेखनीय उपलब्धि मानिएको छ।
ग्लोबल बिजनेस सिम्पोजियमद्वारा आयोजना गरिने यो कार्यक्रम नेतृत्व क्षमता अभिवृद्धि, संगठन व्यवस्थापन, रणनीतिक सोच र अन्तर्राष्ट्रिय सञ्जाल निर्माणमा केन्द्रित छ। सहभागीहरूले विभिन्न कार्यशाला, प्रशिक्षण तथा नेटवर्किङ सत्रमार्फत ज्ञान र अनुभव साटासाट गर्नेछन्।
प्रतिनिधिका रूपमा उनले सामाजिक सञ्जालमार्फत प्रचार सामग्री तयार गर्नुका साथै कार्यक्रममा सहभागिता पश्चात भिडियो तथा लिखित प्रतिवेदन पेस गर्नुपर्नेछ। साथै, उनले प्राप्त ज्ञानलाई आफ्ना परियोजना वा नेतृत्विक क्रियाकलापहरूमा लागू गरी त्यसको प्रभावलाई अभिलेख सहित प्रस्तुत गर्नुपर्नेछ।
श्रेष्ठको यो उपलब्धिले नेपाली युवाको अन्तर्राष्ट्रिय पहिचानलाई थप मजबुत बनाएको छ। उनको सक्रियता, दृष्टिकोण र प्रतिबद्धताले नेपालको भविष्य नेतृत्व पुस्तालाई प्रेरणा दिने विश्वास गरिएको छ।
