काठमाडाैँ - कृष्णनगर नगरपालिका - ८ बहादुरगन्जकी स्मृति हरिजन मधेशी दलित समुदाय विशेष गरी चमार, डोम, मुसहरबाट हालसम्मकै पहिलो महिला चिकित्सक बन्न सफल भएकी छिन्।
समाजमा गढिएको विभेदलाई शिक्षाको माध्यमबाट फाल्न सकिन्छ भन्ने स्मृतिको यो उपलब्धि उदाहरणीय रहेकाे छ। स्मृतिको यो उपलब्धि केवल उनको व्यक्तिगत सफलता मात्र होइन। नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गर्दै जानकी मेडिकल कलेज, जनकपुरबाट एमबिबिएस उत्तीर्ण गरेकी स्मृति अहिले जनकपुरमै इन्टर्नसिप गर्दै आएकी छिन्। इन्टर्नसिप सकिए पछि उनले सरकारको योजनाअनुसार दुई वर्ष सेवा दिनुपर्नेछ।
स्थानीय राम गोरखा माविबाट माध्यमिक तह अध्ययन गरेकी स्मृति सानो देखी पढाइमा अब्बल थिइन्। 'हाम्रो समुदायका महिलालाई आठ कक्षा पार गराउनसमेत गाह्रो हुन्छ। माथिल्लो कक्षामा पढ्न लागेपछि रोक्ने प्रयास हुन्छ, तल्लो जातको पढ्न हुँदैन भन्ने सोच अझै पनि छ।' स्मृति भन्छिन्,'म पहिलो हुँ, तर अन्तिम होइन। म त्यो दराज हुँ जसले विभाजनको पर्खाल भत्काउँछ, म त्यो तारा हुँ जसपछाडि हजारौँ चम्कने छन्।'
सन्तराम (उनका पिता) को सङ्घर्ष र दलित हुनुको सास्ती
स्मृतिका बाबु सन्तराम हरिजनको जीवन आफैँमा एक प्रेरक कथा हो। २०३९ सालमा एसएलसी पास गरेका उनी नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षक बनेका थिए। तर, एक प्रभावशाली व्यक्तिलाई पक्राउ गरेपछि ‘तीन हजार घुस खाएको’ झूटो आरोपमा जागिर गुमाउनुपर्यो। त्यसपछि उनले शिक्षण पेसा अँगाले। मजदुरी, ऋण र गरगहना बेचेर भए पनि उनले आफ्ना सन्तानलाई पढाइमा सम्झौता गर्न दिएनन्।
कान्छी छोरी डाक्टर स्मृति, नेपालकै दलित महिला चिकित्सकमध्ये पहिलो बनेकी छन्। माइली छोरी सृजना, हाल बेलायतमा एमबिए (फाइनान्स) अध्ययन गर्दै छिन्। गाउँबाट युरोपको प्रतिष्ठित शिक्षण संस्थासम्मको उनको यात्रा आफैँमा असाधारण छ। छोरा सन्दीप, भारतको प्रतिष्ठित प्राविधिक संस्था एनआइटी राउरकेलामा कम्प्युटर साइन्स र इन्जिनियरिङ अध्ययनरत छन्।
स्मृति हरिजनको सफलता केवल व्यक्तिगत विजय होइन। नेपाल मेडिकल काउन्सिलको परीक्षा (एनएमसी) उत्तीर्ण गरेपछि स्मृतिलाई सामाजिक सञ्जालबाट बधाई दिनेहरूको ओइरो लागेको छ ।