काठमाडौँ- जेनजी आन्दोलनअघि एकता शाह ‘कमन इन्ट्रान्स इग्जाम’को तयारी गरिरहेकी थिइन्। कक्षा १२ राम्रो अंकका साथ पास भएपछि उनी अझ लगनसाथ एमबीबीएस प्रवेश परीक्षाको तयारीमा थिइन्। त्यसका लागि उनी इन्स्टिच्युटमा पढिरहेकी थिइन्।
भदौ २३ पनि उनले पुतलीसडक पुगेर कक्षा लिइन्। कक्षा सकिएपछि भक्तपुरको सल्लाघारीस्थित घर फर्किइन्।खाना खाएर उनले कलेजको पोसाक लगाइन्। किनकि उनले सुनेकी थिइन्। कलेजको पोसाक लगाउनेलाई प्रहरीले केही गर्दैन।
त्यसपछि उनी जेनजी आन्दोलनमा लागिन्।आन्दोलनमा युवाहरू संसद् भवनतिर बढिरहेका थिए। प्रहरीले बार लगाएर रोकिराखेको थियो। बेलाबेला अश्रुग्यास पनि हानिरहेको थियो।जुलुस संसद् भवनअगाडि पुग्यो। एकाकएक एकतालाई प्रहरीले भाटा हान्न थाल्यो। त्यो देखेर अन्य जेनजीहरू पनि आक्रोशित हुँदै अगाडि गए। त्यहीबेला गोली चल्यो।
प्रहरीले हानेको रबर बुलेट एकताको देब्रे हातमा लाग्यो। गोली लाग्दा पनि एकता पछाडि हटिनन्। डटेर अगाडि बढिरहेकी उनको देब्रे खुट्टामा अर्को गोली प्रहार भयो। यस पटक प्रहरीले उनलाई हानेको गोली रबरको थिएन। धातुको गोली लागेपछि एकता ढलिन्। उनलाई केएमसी अस्पताल लगियो। जहाँ उनको हातको र खुट्टाको एक-एक वटा अप्रेसन भयो। 
२३ दिन एकतालाई केएमसी हस्पिटलमा राखियो। त्यसपछि भने एकतालाई बीएन्डबी अस्पताल रिफर गरिएको थियो। जहाँ उनको खुट्टाको चारपटक अप्रेसन भयो। हालसम्म उनको हातको एउटा र खुट्टाको पाँच वटा अप्रेसन भइसकेको छ। एकता हिँड्न सक्दिनन्। ३५ दिनको उपचारपछि एकता घर फर्किएकी छन्।
अस्पतालमा बस्दै गर्दा उनलाई सबैभन्दा बढी आफ्नो भविष्यको चिन्ताले सताउँथ्यो। आफूलाई जति नै सम्हाल्न खोज्दा पनि ‘अब मैले एमबीबीएस पढ्ने सपना कसरी पूरा गर्न सक्छु’ भन्दै चिन्तित हुन्थिन् अनि रुन्थिन्। चिन्ता नलागोस पनि कसरी? उनका साथीहरू प्रवेश परीक्षाको तयारी गरिरहेको सुन्थिन्। घुम्न गएको फोटो देख्थिन्। अनि लाचार भएर अस्पतालको बेडमा पल्टिएकाी आफूलाई हेर्थिन्।
उनले अस्पतालमा बस्दा पनि पढ्ने प्रयास गरिन्, तर सकिनन्। छोरीको चिन्तालाई कम होस् भनेर आमाबुवाले उनलाई सम्झाउने बुझाउने गर्थे।असोज २९ गते घर फर्किएपछि भने उनको हिम्मत बढ्यो। ‘म गर्न सक्छु’ भन्ने ठानेर परीक्षाको तयारी गर्न थालिन्। 
कत्तिक १५ गते श्री सिद्धि मंगल माध्यमिक विद्यालय, ललितपुरमा भएको एमबीबीएसको प्रवेश परीक्षा एकताले पनि दिइन्। तर, उनी त्यहाँ हिँडेर पुग्न सक्दिनथिन्।त्यसैले एम्बुलेन्समा बसेर परीक्षा हलमा पुगेकी थिइन्। परीक्षा दिएपछि उनी एम्बुलेन्समै फर्केकी थिइन्।आमाबुवाले आफूलाई हरेक कदममा साथ दिने गरेको एकताको भनाइ छ। ‘नतिजा राम्रो आउने आशा छ,’ उनले भनिन्।