काठमाडाैँ- कवि तथा गीतकार महेशबाबु तिमल्सिनाद्वारा लिखित नयाँ कविता कृति ‘अक्षरहरूको क्यानभास’ बिहीबार सार्वजनिक भएको छ। बिहीबार नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा आयोजित किताब जात्रामा उक्त पुस्तक लोकार्पण भएको हो। समारोहमा साहित्यकार, समालोचक, पाठक र शुभेच्छुकहरूको उपस्थिति थियो।
द्वैभाषिक (नेपाली-अंग्रेजी) रूपमै प्रकाशित यस कृतिमा कविको मूल नेपाली कवितासँगै उनका १४ वर्षीय छोरा सम्राटबाबु तिमल्सिनाद्वारा गरिएको अंग्रेजी अनुवाद समावेश छ। कृति शरीर, मन र आत्मा नामक तीन खण्डमा विभाजित छ, जसमा मानवीय संवेदना, सामाजिक यथार्थ, पहिचान, प्रकृतिको प्रहार, प्रेम-वियोग र दार्शनिक चिन्तनका विभिन्न तहहरू समेटिएको छ।
कार्यक्रमको विशेष आकर्षण भनेको कविता वाचन कार्यक्रम थियो, जहाँ कवि तिमल्सिनाले ‘अन्तिम सलाम’ र ‘एउटा खराब सपना’ कविताहरू नेपालीमा वाचन गरे। त्यसपछि सम्राटले तिनै कविताहरू अंग्रेजीमा प्रस्तुत गरे। दुवै भाषामा गरिएको प्रस्तुतीकरणले उपस्थित दर्शकमा गहिरो प्रभाव पारेको थियो।
यसअघि प्रकाशित तिमल्सिनाको कृति ‘अजम्मरी अक्षरहरू’को शैलीअनुसार समालोचकहरूले यसपटक पनि उनको लेखनलाई जीवनबोध, समाजबोध र समयबोधका विविध कोणबाट विश्लेषणयोग्य रहेको टिप्पणी गरे।