काठमाडाैँ - त्रिभुवन विश्वविद्यालयमा 'प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी' औपचारिक रूपमा सुरू भएको छ।'सभ्यताबीच आपसी सिकाइ, प्रविधिगत नवप्रवर्तन' भन्ने मूल नारासहित आयोजना गरिएको यस प्रदर्शनीमा एनिमेटेड फिल्म प्रदर्शन, हस्तकला कार्यशाला, सांस्कृतिक तथा सिर्जनात्मक प्रदर्शनी र सिनेम्याटिक संवादजस्ता विविध कार्यक्रम समावेश गरिएको छ।
कार्यक्रममा सहभागी चिनियाँ र नेपाली फिल्मकर्मी, प्राध्यापक तथा विद्यार्थीहरूबीच फिल्म, एनिमेसन, संस्कृति र प्रविधिका विषयमा संवाद र अन्तरक्रिया भएको थियो।आइतबार चिनियाँ फिल्महरूको विशेष प्रदर्शनमा कलाकार तथा फिल्मकर्मी प्रदीप खड्का, बुद्धि तामाङ, पवित्रा साँकी, केपी पाठक तथा प्राध्यापक कुन्दन आर्याल लगायतको उपस्थिति रहेकाे थियाे। परम्परागत चिनियाँ संस्कृतिलाई आधुनिक प्रविधिसँग संयोजन गरी प्रस्तुत गरिएका श्रव्य- दृश्य सामग्रीले नेपाली युवा विद्यार्थीहरूलाई विशेष रूपमा आकर्षित गरेको छ।

कार्यक्रमको सुरूवात एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधिबाट निर्माण गरिएको प्रवद्र्धनात्मक छोटो फिल्मबाट गरिएको थियो। त्यसपछि एआईजीसी प्रविधिको पूर्ण प्रक्रियाबाट तयार गरिएको एनिमेटेड छोटो फिल्म द स्पिरिट अफ द माउन्टेन्स प्रदर्शन गरिएकाे थियाे। चिनियाँ अमूर्त सांस्कृतिक सम्पदा ‘छ्वानसिङ तुओ’ (पूर्ण-आकार रबिङ) प्रविधिबाट प्रेरित यस फिल्मले परम्परागत संस्कृतिसँग कृत्रिम बुद्धिमत्ताको अद्वितीय संयोजन प्रस्तुत गर्दै दर्शकको प्रशंसा बटुलेको थियो। प्रदर्शनपछि निर्देशक पाङ जियाले भिडिओ लिंकमार्फत प्रत्यक्ष रूपमा एआई दृश्य-निर्माण प्रक्रियाको प्रदर्शन गरेका थिए।

'ब्लाइन्ड बक्स इन्टरएक्सन' सत्रमा विद्यार्थीहरूले प्रश्नावली र विभिन्न गतिविधिमा उत्साहपूर्वक सहभागिता जनाउँदै सीमित संस्करणका फिल्म सामग्री जित्न सक्रिय रूपमा भाग लिएका छन्।
आयोजकहरूका अनुसार, दृश्य-छवि र प्रविधिको प्रयोगमार्फत सुरू गरिएको यस कार्यक्रमले एक सशक्त 'डिजिटल पुल' स्थापना गर्न सफल भएको छ। यसले सांस्कृतिक सामग्रीको आदानप्रदान मात्र होइन, युवा पुस्ताबीच भावनात्मक सम्बन्ध र बौद्धिक संवादलाई समेत सुदृढ बनाएको छ। डिजिटल सामग्री निर्माण, युवा नवप्रवर्तन र उद्यमशीलताजस्ता क्षेत्रमा भविष्यमा चीन-नेपाल सहकार्यका लागि यसले महत्वपूर्ण आधार तयार गरेको विश्वास व्यक्त गरिएको छ।

त्रिभुवन विश्वविद्यालयमा सम्पन्न यस भ्रमणशील प्रदर्शनीको पहिलो चरणलाई शिक्षक र विद्यार्थीहरूले स्वागत गरेका छन्।सहभागी धेरै विद्यार्थीहरूले फिल्म प्रदर्शन र संवाद सत्रमार्फत चिनियाँ एनिमेसनको विशिष्ट सौन्दर्यशास्त्र र उच्चस्तरीय निर्माण प्रविधिलाई नजिकबाट बुझ्न पाएको प्रतिक्रिया दिएका छन्। साथै, डिजिटल सिर्जनाको क्षेत्रमा चीन-नेपाल द्विपक्षीय सहकार्यको भविष्यप्रति उनीहरू आशावादी र उत्साहित देखिएका छन्।फिल्म प्रदर्शनी एक सातासम्म चल्नेछ।