काठमाडाैँ - महोत्तरीको पिपरा गाउँपालिका-७ दनौलीका पवनदेव माझीले चिकित्सा शिक्षा (एमबीबीएस) को प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकालेर इतिहास रचेका छन्। मधेशको सबैभन्दा पिछडिएको मुसहर समुदायबाट सरकारी छात्रवृत्तिमा एमबीबीएस पढ्ने अवसर पाउने २२ वर्षीय पवनदेव सम्भवतः पहिलो व्यक्ति हुन्।
कडा मिहिनेत र लगनशिलताले सफलता हात लाग्दा उनी उत्साहित त छन्, तर विपन्न आर्थिक अवस्थाका कारण मनमा चिन्ता र चुनौती पनि थपिएको छ।पवनदेवको परिवार आर्थिक रूपमा निकै कमजोर छ। उनका ६० वर्षीय बुबा शिवनारायण माझी विगत १४ वर्षदेखि कतारमा मजदुरी गरिरहेका छन्।
‘बुबाले विदेशमा पसिना बगाएर कमाएको पैसाले नै घरको गुजारा चलेको छ। उहाँकै मिहिनेतले म यहाँसम्म आइपुगेको हुँ,’ पवनदेव भन्छन्, ‘बुबा वृद्ध हुनुभयो, उताबाट पठाउने रकमले घर चलाउने कि मेरो पढाइ खर्च धान्ने ? ६ वर्षको होस्टेल खर्च कसरी जुटाउने भन्ने चिन्ता छ।’
शिवनारायणको नाममा ५ धुरमा बनेको एउटा सानो पक्की घर र दुई कठ्ठा जग्गा मात्र छ। आमा सिर्जना माझीले घरधन्दा सम्हाल्दै अर्काको खेतमा अधिया खेती र ज्याला-मजदुरी गरेर परिवारलाई साथ दिइरहेकी छिन् । पवनदेव आफैँ पनि पढाइसँगै आमालाई सघाउन कहिलेकाहीँ मजदुरीमा जाने गर्थे।
युट्युबको सहायताले तयारी
पवनदेवले २०७७ सालमा गोगल प्रसाद नमुना माविबाट एसईई र २०८० मा विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरे। उनका हजुरबुबा र बुबाको पवनदेवलाई ‘हेल्थ असिस्टेन्ट’ (एचए) बनाउने थियो, किनकि गाउँमा एचएलाई नै ‘डाक्टर’ भनिन्थ्यो । तर उनको लक्ष्य ठूलो थियो-वास्तविक चिकित्सक बन्ने।
आर्थिक अभावका कारण नामी कोचिङ सेन्टर धाउन सक्ने अवस्था थिएन। उनले घरमै बसेर युट्युबको सहयोगमा स्वअध्ययन गरे। पहिलो पटकको परीक्षामा नाम निस्किएन, तर उनले हिम्मत हारेनन्।२०८१ सालमा विभिन्न पाँच विधामा परीक्षा दिए र एमबीबीएस बाहेक सबैमा नाम निकाले। बीडीएस पढ्न काठमाडौं गए पनि उनको मन मानेन। अन्ततः ऋण काढेर कोचिङ कक्षा लिएपछि तेस्रो प्रयासमा (२०८२ सालमा) उनले एमबीबीएस र बीडीएस दुवैमा पूर्ण छात्रवृत्तिसहित नाम निकाल्न सफल भए।
भर्ना हुन पनि संघर्ष
एमबीबीएसमा नाम त निस्कियो, तर भर्ना प्रक्रियाकै लागि ७५ हजार रुपैयाँ आवश्यक पर्यो। विपन्न परिवारका लागि यो ठूलो रकम थियो।पवनको भर्ना खर्च जुटाउन मुसहर समुदायका अगुवा पचु माझीको पहलमा सामाजिक सञ्जालमार्फत आर्थिक संकलन गरियो। विभिन्न व्यक्तिहरूको सहयोगबाट एक लाख रुपैयाँ जुट्यो। त्यही पैसाले उनी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भए।
१५ लाखको चुनौती र सरकारसँग गुहार
पवनदेव एमबीबीएस भर्ना त भए तर समस्या अझै सकिएको छैन। आगामी ६ वर्षसम्म लाग्ने होस्टेल शुल्क, किताब-कापी र अन्य विविध खर्च गरी करिब १५ लाख रुपैयाँ आवश्यक पर्ने देखिएको उनी बताउँछन्। बुबाले विदेशबाट महिनाको २० हजार रुपैयाँ जति मात्र घर पठाउन सक्छन्, जसले घर खर्च चलाउनै धौ-धौ हुन्छ।
पवनदेव भन्छन्, ‘बुबाको सीमित आम्दानीले यति ठूलो खर्च धान्न सकिँदैन। यदि सरकार र सहयोगी मनहरूबाट थोरै-थोरै सहयोग प्राप्त भए मेरो डाक्टर बन्ने सपना पूरा हुने थियो।’ चिकित्सक बनेर आफ्नो पिछडिएको समुदायको उत्थान गर्ने अन्तिम लक्ष्य रहेको उनी बताउँछन्।