काठमाडौँ - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा नियमावलीको एघारौँ संशोधन प्रक्रिया दसैँअघि नै टुंग्याउन मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिएका छन्।
बुधबार मन्त्रालयका सचिवसहित उच्च अधिकारी तथा आफ्नो सचिवालयसँग छलफल गर्दै मन्त्री पोखरेलले एघारौँ संशोधनको मस्यौदा तयार गरी नयाँ व्यवस्था कार्यान्वयनमा लैजाने गरी काम गर्न निर्देशन दिएका हुन्।
शिक्षा नियमावलीको दसौँ संशोधनपछि विभिन्न प्रावधान र कार्यान्वयनका क्रममा देखिएका समस्या तथा सरोकारवालाबाट आएका गुनासालाई सम्बोधन गर्ने गरी एघारौँ संशोधनको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।
दसौँ संशोधनपछि विशेषगरी शिक्षक सरुवामा देखिएका प्राविधिक समस्या, विद्यालय व्यवस्थापन समितिसँग सम्बन्धित जटिलता तथा अन्य व्यावहारिक कठिनाइबारे मन्त्रालयमा गुनासा आएका थिए। ती समस्या समाधान हुने गरी आवश्यक संशोधनको मस्यौदा तयार गर्न मन्त्री पोखरेलले निर्देशन दिएका छन्।
एघारौँ संशोधनको तयारीका क्रममा मन्त्रालयले विभिन्न सरोकारवालासँग चरणबद्ध छलफलसमेत गरेको थियो। मन्त्रालयमा भएको छलफलसँगै सातै प्रदेशमा शिक्षा संवाद तथा सरोकारवालासँग अन्तरक्रिया गरी सुझाव संकलन गरिएको थियो।
कतिपय शिक्षा संवाद तथा छलफलमा मन्त्री पोखरेल स्वयं सहभागी भएका थिए। शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झासहित मन्त्रालयका उच्च अधिकारी र विज्ञहरूको टोलीले विभिन्न क्षेत्रबाट सुझाव संकलन गरेको मन्त्रालयले जनाएको छ।
संकलित सुझावका आधारमा शिक्षा नियमावलीमा आवश्यक सुधार तथा संशोधन गर्नुपर्ने विषय पहिचान गरी मस्यौदा तयार गर्ने काम अघि बढाइएको छ।
मन्त्री पोखरेलले सरकारले चालु वर्षलाई कानुन निर्माणको वर्षका रूपमा अघि बढाएको सन्दर्भ उल्लेख गर्दै मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने ऐन तथा नियमावली निर्माण र संशोधनका कामलाई पनि प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिएका छन्।
मन्त्रालयका अनुसार दसौँ संशोधनपछि देखिएका समस्या, शिक्षक सरुवा, विद्यालय व्यवस्थापन समितिलगायत विषयमा आएका गुनासा सम्बोधन गर्ने गरी शिक्षा नियमावलीको एघारौँ संशोधनको मस्यौदा तयार भइरहेको छ।