काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक राजनीतिक दलका कार्यक्रममा सहभागी भएको पाइए आवश्यक कारबाही गर्न देशभरका ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ।
मन्त्रालयको विद्यालय शिक्षा शाखाले मंगलबार जारी गरेको पत्रमार्फत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषयमा निगरानी बढाउन र आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो।
मन्त्रालयका अनुसार पछिल्ला केही दिनयता बैतडी, बाजुरा, सिन्धुली, सिन्धुपाल्चोक, मुगु, रौतहट, सप्तरीलगायत जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक राजनीतिक दलका कार्यक्रममा सहभागी भएको समाचार सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममार्फत सार्वजनिक भएका छन्।
शिक्षकका यस्ता गतिविधि शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (१) को खण्ड (ग) विपरीत हुन सक्ने मन्त्रालयले जनाएको छ। त्यसैले स्थानीय तहसँग समन्वय गरी घटनाको थप खोजबिन, निगरानी तथा आवश्यक प्रमाण संकलन गर्न शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिइएको छ।
मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न भई आचारसंहिता उल्लंघन गरेको पुष्टि भए सम्बन्धित शिक्षकलाई पहिचान गरी शिक्षा नियमावली, २०५९ को नियम १३७ को खण्ड (ग) तथा नियम १४३ बमोजिम आवश्यक कारबाही गर्न भनेको छ।
उपसचिव लिलानाथ पौडेलको हस्ताक्षर रहेको उक्त निर्देशन मन्त्रालयको असोज ६ गतेको निर्णयअनुसार जारी गरिएको हो।
मन्त्रालयले निर्देशनको बोधार्थ शिक्षा विभाग, सानोठिमी, भक्तपुर तथा शिक्षा तथा खेलकुदमन्त्रीलाई समेत पठाएको छ।
मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकलाई पेसागत आचारसंहिता पालना गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा कडाइ गर्दै राजनीतिक दलका गतिविधिमा शिक्षकको संलग्नताबारे निगरानी बढाउन खोजेको देखिन्छ।
