काठमाडौँ - भारी वर्षा, हिमपात, हावाहुरी तथा चट्याङको सम्भावना रहेकाले शिक्षा तथा खेलकुद मन्त्रालयले असोज ९, १० र ११ गते विशेष सावधानी अपनाउन विद्यालय, विश्वविद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकलाई आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त पूर्वानुमानलाई आधार बनाउँदै मन्त्रालयले देशका विभिन्न स्थानमा भारी वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुन सक्ने जनाएको हो।
मन्त्रालयका अनुसार यस अवधिमा बाढी, पहिरो, डुबान, नदी कटान तथा सडक अवरोधको जोखिम रहनुका साथै विद्युत् र सञ्चार सेवासमेत प्रभावित हुन सक्ने सम्भावना छ।
विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षा सुनिश्चित गर्न असोज ९ र १० गते स्थानीय तहसँग समन्वय गरी आवश्यकताअनुसार विद्यालय बिदा गर्न सकिने मन्त्रालयले जनाएको छ।
त्यस्तै, विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायले असोज ९ देखि ११ गतेसम्म सञ्चालन हुने तोकिएका परीक्षा जोखिमको अवस्था हेरी आवश्यकताअनुसार स्थगित गर्नुपर्ने मन्त्रालयको आग्रह छ।
विपद्को अवस्था सिर्जना भएमा सुरक्षित विद्यालय भवनलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न स्थानीय तहलाई आवश्यक सहजीकरण गर्नसमेत मन्त्रालयले अनुरोध गरेको छ।
मन्त्रालयले अभिभावकलाई आफ्ना बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा जान नदिन विशेष आग्रह गरेको छ।
मन्त्रालयले विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक तथा सम्बन्धित सबै पक्षलाई मौसम तथा विपद्सम्बन्धी सूचना निरन्तर हेर्न र जोखिमको अवस्था देखिएमा आवश्यक सुरक्षा उपाय अपनाउन अनुरोध गरेको छ।
