काठमाडौँ- शैक्षिक अभियन्ता रमेशबाबु भट्टराईले लोकतान्त्रिक अभ्यासमा सहभागी भएका शिक्षकलाई राजनीतिक रंग दिएर अपमान गर्ने प्रवृत्तिको विरोध गरेका छन्।
शिक्षकलाई हिलो छ्याप्ने, आक्रमण गर्ने तथा अमर्यादित भाषा प्रयोग गर्ने प्रवृत्तिको भर्त्सना गर्दै उनले आवश्यक परे त्यसको प्रतिकार गर्ने बताएका छन्।
भट्टराईले शिक्षकलाई लोकतान्त्रिक अभ्यासबाट अलग राख्न खोज्नु शिक्षण पेसाकै अपमान भएको बताए। लोकतान्त्रिक अभ्यासको पाठ सिकाउने शिक्षकलाई त्यही अभ्यासमा सहभागी हुँदा आक्रमण गरिनु उचित नभएको उनको भनाइ छ।
‘लोकतान्त्रिक अभ्यासको पाठ सिकाउँदा आक्रमण गरे प्रतिकार गर्छु,’ उनले भने।
शिक्षकले विद्यालयमा पढाउने जिम्मेवारीसँगै समाजमा विभिन्न सामाजिक भूमिका निर्वाह गर्दै आएको भट्टराईले बताए। उनका अनुसार विगतमा शिक्षकहरूले समाजमा हुने विवाद समाधान गर्ने, निवेदन तथा चिठीपत्र लेखिदिने र पीडित व्यक्तिलाई सहयोग गर्ने लगायतका सामाजिक दायित्वसमेत निर्वाह गर्दै आएका छन्।
‘शिक्षकले पढाउने मात्र काम गरेको भए यो समाज आज यहाँसम्म आउन कठिन थियो। शिक्षक सचेत वर्ग हो,’ उनले भने।
सरकारबाट विधिवत् मान्यता प्राप्त संस्थाको लोकतान्त्रिक अभ्यासलाई पूर्णता दिन शिक्षकले सहजीकरण गर्दा त्यसलाई लिएर विवाद गर्नु उचित नभएको उनको भनाइ छ।
तर शिक्षकले दलको झण्डा बोक्ने वा दलको सदस्यता लिने अवस्था भए कानुनअनुसार कारबाही हुनुपर्ने भट्टराईले स्पष्ट पारे। उनका अनुसार बिदाको दिन सामाजिक दायित्व निर्वाह गर्ने वा लोकतान्त्रिक अभ्यासमा सहभागी हुने शिक्षकलाई राजनीतिक रंग दिएर गालीगलौज गर्नु भने आम शिक्षक र शिक्षण पेसामाथिको आक्रमण हो।
‘शिक्षकले सामाजिक भावना राखेर स्वयंसेवक बन्न सक्छ। समाजमा लोकतान्त्रिक अभ्यास गर्ने पाठ सिकाउन सक्छ। त्यसमा अपमान किन?’ उनले प्रश्न गरे।
मन्त्री र शिक्षकलाई फरक मापदण्ड किन?
भट्टराईले शिक्षकलाई मात्र राजनीतिक तथा सामाजिक गतिविधिबाट टाढा राख्न खोजिएको भन्दै फरक मापदण्डप्रति प्रश्न उठाएका छन्।
प्रधानमन्त्री, शिक्षामन्त्री, गृहमन्त्रीलगायत सरकारका प्रतिनिधिहरू राज्यबाट पारिश्रमिक लिँदालिँदै पनि राजनीतिक दलका कार्यक्रममा सहभागी हुने गरेको उल्लेख गर्दै उनले शिक्षक सामाजिक तथा लोकतान्त्रिक गतिविधिमा सहभागी हुँदा आपत्ति जनाउनुको औचित्यबारे प्रश्न गरे।
विभिन्न आयोगका पदाधिकारी, मन्त्रालयका सल्लाहकार तथा कर्मचारी नियुक्तिमा राजनीतिक दलसँग आबद्ध व्यक्तिहरूको संलग्नताबारे समेत उनले प्रश्न उठाएका छन्।
‘शिक्षक सहजकर्ता हुँदा आपत्ति हुने तर मन्त्रीहरू राजनीतिक कार्यक्रममा सहभागी हुँदा छुट किन?’ उनले प्रश्न गरे।
शिक्षकलाई मलामी जानसमेत डराउने अवस्था आएको दाबी
भट्टराईले समाजमा दूषित, दिग्भ्रमित र प्रतिशोधपूर्ण प्रवृत्ति बढ्दै गएको दाबी गरे। शिक्षकहरूलाई सामाजिक संवेदनशीलताका अवसरमा समेत आलोचनाको डर हुने अवस्था सिर्जना भएको उनले बताए।
विशेषगरी मृतकको पार्थिव शरीरमा राजनीतिक दलको झण्डा ओढाइने अवस्थाका कारण शिक्षक मलामी जाँदा समेत राजनीतिक आरोप लाग्न सक्ने उनको भनाइ छ।
उनले शिक्षकहरूले लोकतान्त्रिक अभ्यास र सामाजिक रूपान्तरणमा पुर्याएको योगदानको कदर गर्दै शिक्षण पेसाप्रति सम्मानजनक व्यवहार गर्न आग्रह गरेका छन्।
गलत भाष्य निर्माण गरेर शिक्षकको अपमान नगर्न आग्रह गर्दै भट्टराईले सभ्य समाज निर्माणमा शिक्षकको भूमिकालाई सम्मान गर्नुपर्ने बताए।
‘मास्टर्नी’को गीतविरुद्ध उजुरी
यसअघि गत साउनमा प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’को गीतमा शिक्षकप्रति लक्षित अमर्यादित शब्द तथा भाव प्रयोग गरिएको भन्दै भट्टराईले प्रशासनमा उजुरी दिएका थिए।
उक्त गीतले शिक्षक र शिक्षण पेसाको गरिमामा असर पुर्याएको उनको आरोप थियो। गीतको विषयलाई लिएर आलोचना भएपछि उक्त गीत युट्युबबाट हटाइएको दाबी भट्टराईले गरेका छन्।