काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय क्याम्पस, कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले नवनियुक्त उपकुलपति प्रा.डा. भोला थापालाई विश्वविद्यालय सुधारका लागि २१ बुँदे सुझावपत्र बुझाएको छ।
स्ववियु अध्यक्ष दीपकराज जोशीको नेतृत्वमा गएको टोलीले उपकुलपति थापालाई भेटेर त्रिविलाई समयानुकूल, प्रविधिमैत्री, अनुसन्धानमुखी, पारदर्शी तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने विश्वविद्यालयका रूपमा विकास गर्न आवश्यक सुधारका उपायहरू अघि बढाउन आग्रह गरेको हो।
भेटका क्रममा स्ववियुले २०७२ सालको भूकम्पपछि पनि पुनर्निर्माण हुन नसकेको त्रिविको कान्ति ब्वाइज होस्टलको ‘ख’ ब्लक तथा वनस्पति विज्ञान भवनप्रति विशेष ध्यानाकर्षण गराएको छ। पुनर्निर्माणमा भएको ढिलाइको विरोधस्वरूप स्ववियुले प्रतीकात्मक रूपमा भवनको तस्बिर र क्याक्टस उपकुलपतिलाई हस्तान्तरण गरेको जनाएको छ।
सुझावपत्रमा शैक्षिक क्यालेन्डर पूर्ण रूपमा कार्यान्वयन गरी समयमै भर्ना, परीक्षा, नतिजा प्रकाशन र दीक्षान्त समारोह सम्पन्न गर्नुपर्ने, परीक्षा नियन्त्रण कार्यालयलाई प्रविधिमैत्री तथा विकेन्द्रीकृत बनाउनुपर्ने, कुल विद्यार्थी सङ्ख्याको करिब १० प्रतिशत अर्थात् ५० हजार विद्यार्थीलाई समेट्ने गरी डिजिटल छात्रवृत्ति व्यवस्था गर्नुपर्ने तथा विश्वविद्यालयका भौतिक संरचनालाई अपाङ्गमैत्री बनाउनुपर्ने विषय समेटिएका छन्।
त्यसैगरी वैज्ञानिक आधारमा शुल्क निर्धारण गर्न ‘शुल्क पुनर्मूल्याङ्कन समिति’ गठन, विद्यार्थीका लागि स्वास्थ्य तथा जीवन बीमा लागू, विश्वविद्यालयको मौलिक पहिचान झल्किने ‘मास्टर प्लान म्याप’ तयार गरी त्यसअनुसार भौतिक पूर्वाधार विकास गर्नुपर्ने सुझाव पनि स्ववियुले दिएको छ।
स्ववियुले विश्वविद्यालयको वित्तीय अवस्थाप्रति पनि चिन्ता व्यक्त गरेको छ। देशकै सबैभन्दा ठूलो विश्वविद्यालय सञ्चालनका लागि वार्षिक करिब १९ अर्ब रुपैयाँ आवश्यक पर्ने भए पनि सरकारबाट ६ अर्ब ३१ करोड रुपैयाँ मात्र अनुदान प्राप्त हुनु पर्याप्त नभएको उल्लेख गर्दै बजेट कटौती हुन नदिन र नियमित शैक्षिक गतिविधि तथा अनुसन्धानका लागि आवश्यक स्रोत सुनिश्चित गर्न सरकारसँग प्रभावकारी पहल गर्न उपकुलपतिसमक्ष आग्रह गरिएको छ।
साथै, त्रिविलाई केवल डिग्री वितरण गर्ने संस्थाका रूपमा सीमित नराखी ज्ञान उत्पादन, अनुसन्धान र सामाजिक रूपान्तरणको केन्द्रका रूपमा स्थापित गर्न चालिने प्रत्येक सकारात्मक र रचनात्मक पहलमा स्ववियुको पूर्ण सहयोग र समर्थन रहने प्रतिबद्धता पनि सुझावपत्रमार्फत व्यक्त गरिएको छ।
