बारा- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालका विश्वविद्यालयहरू एउटै प्रकृतिका विषयमा केन्द्रित नभई आ–आफ्नो विशिष्ट पहिचान र विशेषज्ञता विकास गर्नुपर्ने बताएका छन्।
शिक्षा तथा खेलकुद मन्त्रालयले सिमरामा आयोजना गरेको उच्चस्तरीय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले विश्वविद्यालयको संख्या थप्नुभन्दा पनि उद्देश्यअनुसार विशिष्टीकरण, गुणस्तर र फरक शैक्षिक कार्यक्रम विकास गर्नुपर्नेमा जोड दिएका हुन्।
नेपालमा संघीय सरकारअन्तर्गत हाल १५ वटा विश्वविद्यालय रहेको उल्लेख गर्दै उनले प्रत्येक विश्वविद्यालयको आफ्नै दृष्टिकोण, उद्देश्य र विशेष पहिचान हुनुपर्ने बताए। सबै विश्वविद्यालयले एउटै प्रकृतिका विषय मात्रै सञ्चालन गर्ने हो भने विश्वविद्यालय स्थापनाको औचित्यमाथि नै प्रश्न उठ्ने उनको भनाइ थियो।
‘हामीसँग अहिले संघीय सरकारअन्तर्गत १५ वटा विश्वविद्यालय छन्। १५ वटै विश्वविद्यालयको आफ्नो–आफ्नो भिजन र कुनै न कुनै विशेष पहिचान हुनुपर्यो,’ मन्त्री पोखरेलले भने, ‘नत्र सबै विश्वविद्यालयमा एउटै विषय, जस्तै इन्जिनियरिङ मात्रै पढाउने हो भने १५ वटा विश्वविद्यालय खोल्नुको अर्थ के रह्यो?’
उनले विश्वविद्यालय स्थापना गर्दा तय गरिएको मूल उद्देश्य र लक्ष्यअनुसार नै शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। विश्वविद्यालयहरूले आफ्नो स्थापनाको उद्देश्यभन्दा बाहिर गएर विषय थप्दै जाने प्रवृत्तिले उच्च शिक्षाको विशिष्टीकरण कमजोर बनाउने उनको भनाइ थियो।
मन्त्री पोखरेलले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै विश्वविद्यालयले आफ्नो मौलिक पहिचानलाई केन्द्रमा राख्नुपर्ने बताए। बुद्ध दर्शन तथा बौद्ध अध्ययनसँग सम्बन्धित विषयमा विश्वभरबाट विद्यार्थी आकर्षित गर्न सक्ने सम्भावना रहेको विश्वविद्यालयले आफ्नो मूल उद्देश्यसँग प्रत्यक्ष सम्बन्ध नराख्ने विषयसमेत सञ्चालन गरिरहेको उनले उल्लेख गरे।
‘लुम्बिनी बौद्ध विश्वविद्यालयमा विश्वभरबाट, विशेषगरी बुद्ध धर्मसँग जोडिएका देशहरूबाट विद्यार्थीहरू अध्ययनका लागि आउन सक्ने सम्भावना छ,’ उनले भने, ‘तर पछिल्लो समयमा विश्वविद्यालयले आफ्नो मूल उद्देश्यसँग प्रत्यक्ष सम्बन्ध नराख्ने विषयहरू पनि सञ्चालन गरिरहेको पाइयो। एभिएसन र ड्रोनसम्बन्धी विषयहरू पनि पढाइरहेको रहेछ। जुन उद्देश्यका साथ विश्वविद्यालय स्थापना भएको हो, त्यही उद्देश्यअनुसार अघि बढ्नुपर्छ।’
विश्वविद्यालयहरूले जथाभावी सम्बन्धन विस्तार गर्ने प्रवृत्तिमा समेत पुनर्विचार गर्नुपर्ने मन्त्री पोखरेलले बताए। सम्बन्धनको अनियन्त्रित विस्तारले विश्वविद्यालयको व्यवस्थापनसँगै परीक्षा सञ्चालन, शैक्षिक गुणस्तर र समयमै नतिजा प्रकाशनमा समेत समस्या सिर्जना गरिरहेको उनको भनाइ थियो।
उनले विश्वविद्यालयहरूले पाएको शैक्षिक स्वायत्ततालाई जिम्मेवार ढंगले प्रयोग गर्नुपर्ने बताए। स्थानीय आवश्यकता, राष्ट्रिय प्राथमिकता र श्रम बजारको मागलाई आधार बनाएर फरक–फरक तथा विशिष्ट शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।
मन्त्री पोखरेलले धेरै विश्वविद्यालय खोल्दै जानेभन्दा भएका विश्वविद्यालयलाई विशिष्टीकृत, गुणस्तरीय र प्रतिस्पर्धी बनाउने दिशामा राज्यको ध्यान केन्द्रित हुनुपर्ने बताए। ‘धेरै विश्वविद्यालय खोलेर मात्रै हुँदैन। विशिष्टिकृत विश्वविद्यालय बनाउनेतर्फ ध्यान दिनुपर्छ,’ उनले भने।