काठमाडौँ- नेपाली भाषाको शिक्षण, संरक्षण, प्रवर्द्धन तथा सबलीकरणलाई प्रभावकारी बनाउन विद्यालय तहमा नेपाली भाषा अध्यापनरत शिक्षकहरूलाई संगठित गर्ने उद्देश्यले नेपाली भाषा शिक्षक समाज गठन गरिएको छ।
विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वरमा सम्पन्न केन्द्रीय भेलाले नारायणप्रसाद गौतमको अध्यक्षतामा ९९ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको हो। गौतम लाजिम्पाटस्थित रानीदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन्।
समाजको उपाध्यक्षमा उमेश अधिकारी, महिला उपाध्यक्षमा राममाया अधिकारी, प्रदेश उपाध्यक्षमा हरिप्रसाद तिमिल्सिना र रूपिन्द्रप्रभावी जोशी चयन भएका छन्।
त्यस्तै महासचिवमा राजेन्द्रप्रसाद रिमाल चयन भएका छन्। उपमहासचिवमा पुरनप्रसाद पैंतौला, बुद्धिसागर अधिकारी र शकुन्तला भण्डारी तथा सचिव अर्थमा जीवराज आचार्य चयन भएका छन्।
समाजले देशभर कक्षा १ देखि १२ सम्म नेपाली भाषा अध्यापन गराइरहेका शिक्षकहरूलाई संस्थामा आबद्ध हुन आह्वान गरेको छ। नेपाली भाषा शिक्षणमा देखिएका समस्या पहिचान गर्दै शिक्षकहरूको व्यावसायिक क्षमता अभिवृद्धि र भाषाको प्रभावकारी शिक्षणका लागि सहकार्य गर्ने समाजको उद्देश्य रहेको जनाइएको छ।
नेपाली भाषाको संरक्षण, प्रवर्द्धन र सबलीकरणका लागि शिक्षकहरूबीच एकता तथा सहकार्य आवश्यक रहेको समाजले जनाएको छ। विद्यालय तहमा नेपाली भाषा शिक्षणलाई थप प्रभावकारी बनाउन शिक्षकका अनुभव, ज्ञान र अभ्यासलाई साझा गर्ने वातावरण निर्माण गरिने समाजको भनाइ छ।
केन्द्रीय सदस्यहरूमा अर्जुनकुमार श्रेष्ठ, नवराज भेटुवाल, शिवराम चालिसे, विमला लामिछाने, नीता पोखरेल, मणिराम घिसिङ, गणेश बुढा, हिमालयप्रसाद शर्मा, विक्रमराज भट्टराई, प्रतिमा पौडेल, खेमनाथ सापकोटा, विश्वराज खनाल, देवीप्रसाद खरेल, सरिता ढकाल फुँयाल, सुरेशकुमार बस्नेत, लक्ष्मीप्रसाद घिमिरे, शान्ता पन्थी, डा. सीता सुवेदी पन्थी, रमेशचन्द्र घिमिरे, माधवप्रसाद गौतम, भीमप्रसाद भुषाल, जुनामाया कार्की, मोहन विष्ट, इन्द्रा खड्का, गायत्रीप्रसाद खनाल र भूपेन्द्र वि.सी. चयन भएका छन्।
त्यस्तै केन्द्रीय सल्लाह परिषद्मा डा. जानुका नेपाल, केदारप्रसाद दाहाल र कुमारप्रसाद खतिवडा चयन भएका छन्।
समाजले नवगठित समितिमा देशका विभिन्न जिल्लाबाट विद्यालय तहमा नेपाली भाषा अध्यापन गराइरहेका शिक्षकहरूको प्रतिनिधित्व रहेको जनाएको छ। समाजले आगामी दिनमा नेपाली भाषा शिक्षणलाई थप व्यवस्थित, गुणस्तरीय र प्रभावकारी बनाउन शिक्षक, विद्यालय तथा सम्बन्धित निकायबीच समन्वय र सहकार्यलाई प्राथमिकता दिने जनाएको छ।