काठमाडौँ - नेपालको शैक्षिक परामर्श क्षेत्रमा कार्यरत संस्थाहरूको छाता संगठनका शैक्षिक परामर्श संघ नेपाल (इक्यान) का अध्यक्ष एंव शिक्षा तथा सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय ग्रेस इन्टरनेसनलका निर्देशक लक्ष्मण पौडेल (एन्ड्रयू) ‘एम्बेसडर फर पिस २०२६’ बाट सम्मानित भएका छन्।
युनिभर्सल पिस फेडरेसन (युपिएफ) ले पौडेललाई शान्ति, सामाजिक सद्भाव, शिक्षा, युवा सशक्तीकरण तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरेको हो।
शिक्षा तथा सामाजिक सेवामार्फत समाजमा सकारात्मक योगदान पुर्याउने व्यक्तित्वलाई प्रदान गरिँदै आएको यो सम्मान पौडेलको लामो समयदेखिको सामाजिक तथा शैक्षिक सक्रियताको मूल्यांकनस्वरूप प्रदान गरिएको जनाइएको छ।
‘एम्बेसडर फर पिस २०२६’ सम्मानले शिक्षा, युवा तथा सामाजिक क्षेत्रमा पौडेलले गर्दै आएको योगदानलाई थप पहिचान दिएको आयोजकको भनाइ छ।

पौडेल लामो समयदेखि नेपालको शिक्षा तथा सामाजिक क्षेत्रमा सक्रिय छन्। विशेषगरी विदेश अध्ययनका लागि जाने नेपाली विद्यार्थीलाई आवश्यक सूचना, परामर्श र मार्गदर्शन उपलब्ध गराउने क्षेत्रमा उनले काम गर्दै आएका छन्।
ग्रेस इन्टरनेसनलमार्फत पौडेल शिक्षा परामर्श, विद्यार्थी मार्गदर्शन तथा युवाको शैक्षिक भविष्य निर्माणसँग सम्बन्धित विभिन्न गतिविधिमा संलग्न रहँदै आएका छन्।
विद्यार्थीलाई विदेश अध्ययनका क्रममा आवश्यक जानकारी तथा उचित मार्गदर्शन उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राख्दै उनले शैक्षिक परामर्श क्षेत्रको व्यावसायिकता र जिम्मेवारी अभिवृद्धिमा समेत भूमिका निर्वाह गर्दै आएका छन्।