सिन्धुली- सिन्धुलीको दुधौली नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको तलबभत्ता मासिक रूपमा सिधै बैंक खातामा पठाउन थालेको छ। नगरपालिकाले विद्युतीय रकम स्थानान्तरण प्रणालीमार्फत शिक्षक तथा कर्मचारीको खातामै तलब भुक्तानी गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो।
आर्थिक वर्ष २०८३/८४ को सशर्त कार्यक्रम कार्यान्वयन कार्यविधिले स्थानीय तहलाई एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आईईएमआईएस) मार्फत मासिक रूपमा तलब माग फाराम संकलन गरी नियमानुसार शिक्षकको बैंक खातामा रकम पठाउन सक्ने व्यवस्था गरेको छ।
सोही व्यवस्थालाई आधार बनाएर दुधौली नगरपालिकाले चालु आर्थिक वर्षको सुरुवातदेखि नै शिक्षक तथा कर्मचारीलाई मासिक रूपमा तलब भुक्तानी गर्न थालेको जनाएको छ। नगरपालिकाका अनुसार यस्तो व्यवस्था लागू गर्नेमा दुधौली सिन्धुली जिल्लाकै पहिलो स्थानीय तह बनेको छ।
नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत कुल ६६५ जना शिक्षक तथा कर्मचारीको तलब तथा भत्ता सिधै उनीहरूको बैंक खातामा पठाइरहेको जनाएको छ।
हालसम्म २०८३ साल साउन, भदौ र असोज महिनाको तलबसँगै चाडपर्व खर्चसमेत सम्बन्धित शिक्षक तथा कर्मचारीको बैंक खातामा भुक्तानी गरिसकिएको नगरपालिकाले जनाएको छ। स्थायी शिक्षकहरूको कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायतका रकमसमेत मासिक रूपमा समयमै जम्मा गर्ने व्यवस्था गरिएको छ।
यसअघि संघ, प्रदेश तथा स्थानीय तहका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीले मासिक रूपमा तलब पाउँदै आए पनि सामुदायिक विद्यालयका शिक्षकहरूले कतिपय अवस्थामा त्रैमासिक रूपमा मात्र तलब पाउने गरेका थिए। मासिक तलब भुक्तानी नहुँदा शिक्षकहरूमा देखिएको असमानता र गुनासो सम्बोधन गर्ने उद्देश्यले नयाँ प्रणाली लागू गरिएको नगरपालिकाको भनाइ छ।
नगरपालिकाका वरिष्ठ विद्यालय निरीक्षक तथा शिक्षा शाखा प्रमुख हरिलाल विश्वकर्माका अनुसार मासिक रूपमा तलब सिधै बैंक खातामा पुग्ने व्यवस्था भएपछि शिक्षक तथा कर्मचारी उत्साहित भएका छन्। यसले लेखा प्रणालीलाई समेत सरल, व्यवस्थित र एकरूप बनाउन सहयोग पुगेको उनले बताए।
नयाँ व्यवस्थाले विद्यालयको प्रशासनिक तथा वित्तीय कार्यबोझसमेत घटाएको नगरपालिकाले जनाएको छ। शिक्षक तथा कर्मचारीले नियमित रूपमा तलब पाउने भएपछि स्थानीय बजारमा नगद प्रवाह बढ्नुका साथै आर्थिक गतिविधि चलायमान बनाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।