काठमाडौँ- सोलुखुम्बुको सोताङ गाउँपालिका–२ चेपेलस्थित चेपेल आधारभूत विद्यालयमा शिक्षक, विद्यार्थी र शिक्षक–अभिभावक संघका सदस्यबीच विवाद उत्पन्न भएपछि विद्यालयको पठनपाठन तथा सम्पूर्ण कामकाज अनिश्चितकालका लागि बन्द गरिएको छ।
विद्यालयले जारी गरेको सूचनाअनुसार विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक संघको संयुक्त बैठकले सोताङ गाउँपालिकाको शैक्षिक श्वेतपत्रको बुँदा नम्बर १२ लाई आधार मानेर विद्यालय परिसरमा जङ्कफुड (पत्रु खाना) निषेध गर्ने निर्णय गरेको थियो।
उक्त निर्णयलाई लिएर विवाद उत्पन्न भएको विद्यालयले जनाएको छ। विद्यालयका अनुसार सोताङ–२ चेपेल निवासी शिक्षक–अभिभावक संघका सदस्य तथा विद्यालय छात्रावास सञ्चालक पेमा शेर्पाले शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक संघका सदस्यप्रति अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेका थिए।
विद्यालयका निमित्त प्रधानाध्यापक झमकबाबु बरालले जारी गरेको सूचनामा प्रधानाध्यापक बासु राईमाथि समेत अपशब्द प्रयोग गरी अभद्र व्यवहार गर्नुका साथै कुटपिट गर्ने उद्देश्यले हातपातको प्रयास भएको उल्लेख गरिएको छ।
घटनापछि विद्यालयमा शिक्षक तथा विद्यार्थीका लागि सुरक्षित वातावरण नरहेको विद्यालयले जनाएको छ। विद्यालयले घटनालाई गम्भीर र संवेदनशील विषयका रूपमा लिँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
विद्यालयले सम्बन्धित पक्षलाई उपस्थित गराई घटनाबारे चित्तबुझ्दो जवाफ नदिएसम्म तथा दोषीमाथि आवश्यक कानुनी कारबाही नभएसम्म विद्यालय सञ्चालन गर्न नसकिने जनाएको छ।
विद्यालयका अनुसार शिक्षक तथा विद्यार्थीको सुरक्षाको सुनिश्चितता भएपछि मात्र नियमित पठनपाठन तथा विद्यालयका अन्य गतिविधि सञ्चालन गर्ने अवस्था बन्नेछ।
विद्यालयले घटनाको समाधान तथा आवश्यक कारबाहीका लागि सोताङ गाउँपालिका–२ को कार्यालय, सोताङ गाउँपालिकाको शिक्षा शाखा र शिक्षा विकास तथा समन्वय एकाइ, सोलुखुम्बुलाई बोधार्थसहित पत्र पठाएको छ।
विद्यालयले सम्बन्धित निकायबाट तत्काल आवश्यक पहल गरी सुरक्षित वातावरण निर्माण र विद्यालय सञ्चालनका लागि आवश्यक कदम चाल्न आग्रह गरेको छ।