रुपन्देही- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई अन्य विश्वविद्यालयभन्दा पृथक् र विशिष्ट पहिचानसहित अघि बढाउनुपर्ने बताएका छन्।
लुम्बिनी बौद्ध विश्वविद्यालयले शुक्रबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले बुद्धको जन्मभूमि लुम्बिनीमा स्थापित विश्वविद्यालयले बौद्ध दर्शन, मौलिक ज्ञान र नेपालको रैथाने पहिचानलाई विश्वसमक्ष चिनाउने गरी आफ्नो उद्देश्य निर्धारण गर्नुपर्ने बताएका हुन्।
उनले विश्वविद्यालयलाई इन्जिनियरिङ, विज्ञानलगायतका परम्परागत विषयमा मात्र केन्द्रित नगरी बौद्ध दर्शन तथा त्यससँग सम्बन्धित विषयको अध्ययन, अनुसन्धान र प्रवर्द्धनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।
विश्वविद्यालयका आङ्गिक क्याम्पस विस्तार हुँदै गए पनि आफ्नो मूल उद्देश्य र विशिष्ट पहिचानबाट विचलित हुन नहुने मन्त्री पोखरेलको भनाइ थियो। विश्वविद्यालयको विस्तारसँगै यसको मौलिक उद्देश्यलाई थप सुदृढ बनाउनुपर्ने उनले बताए।
मन्त्री पोखरेलले लुम्बिनी बौद्ध विश्वविद्यालयले बौद्ध दर्शन र ज्ञानको अध्ययन तथा अनुसन्धानलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न सक्ने सम्भावना रहेको उल्लेख गरे। नेपालको मौलिक ज्ञान, संस्कृति र रैथाने पहिचानलाई विश्वसमक्ष पुर्याउन विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्न सक्ने उनको भनाइ थियो।
विश्वविद्यालयले आफ्नो विशिष्ट पहिचान कायम राख्दै देश तथा विदेशका अन्य शैक्षिक संस्थासँग सहकार्य र साझेदारी गरेर अघि बढ्नुपर्नेमा पनि उनले जोड दिए। बौद्ध दर्शनलाई आधुनिक ज्ञान र अनुसन्धानसँग जोडेर अघि बढाउन सके विश्वविद्यालयको प्रभाव अझ व्यापक बन्ने उनले बताए।
कार्यक्रममा सहभागी वक्ताहरूले लुम्बिनी बौद्ध विश्वविद्यालयमार्फत नेपालको रैथाने पहिचान, मौलिकता र स्वदेशी ज्ञानलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष चिनाउने पर्याप्त सम्भावना रहेको बताएका थिए।
यसैबीच, लुम्बिनी बौद्ध विश्वविद्यालयले रसुवाका बाढीपीडितका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। बाढीबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले विश्वविद्यालयले उक्त रकम उपलब्ध गराएको जनाएको छ।