काठमाडौँ– शिक्षा विभाग, सानोठिमीले देशभरका विद्यालयमा कायम शिक्षक दरबन्दीको विस्तृत विवरण सार्वजनिक गरेको छ। विभागका अनुसार ७७ वटै जिल्लाका प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा गरी कुल १ लाख ९ हजार १२५ शिक्षक दरबन्दी कायम छन्।
कुल दरबन्दीमध्ये प्राथमिक तहमा ८० हजार १७६, निम्न माध्यमिक तहमा १६ हजार २२४ र माध्यमिक तहमा १२ हजार ७२५ दरबन्दी रहेका छन्।
प्रदेशगत रूपमा सबैभन्दा धेरै शिक्षक दरबन्दी कोशी प्रदेशमा रहेको विभागको तथ्यांकले देखाएको छ। कोशीका १४ जिल्लामा गरी २२ हजार ७४३ दरबन्दी कायम छन्। तीमध्ये प्राथमिक तहमा १६ हजार ६३७, निम्न माध्यमिक तहमा ३ हजार ६०६ र माध्यमिक तहमा २ हजार ५०० दरबन्दी छन्।
कोशी प्रदेशमा मोरङमा सबैभन्दा धेरै ३ हजार २०७ र सोलुखुम्बुमा सबैभन्दा कम १ हजार ६ दरबन्दी रहेको छ। झापामा ३ हजार १३८, सुनसरीमा १ हजार ९२७, इलाममा १ हजार ८३६, खोटाङमा १ हजार ५०२ तथा भोजपुरमा १ हजार ४६७ दरबन्दी कायम छन्। ताप्लेजुङमा १ हजार २५६, पाँचथरमा १ हजार ३८७, संखुवासभामा १ हजार ३५६, तेह्रथुममा १ हजार ७४, धनकुटामा १ हजार २३०, उदयपुरमा १ हजार २५८ र ओखलढुंगामा १ हजार ९९ दरबन्दी रहेका छन्।
मधेश प्रदेशका आठ जिल्लामा कुल १३ हजार १३ शिक्षक दरबन्दी छन्। यसमध्ये प्राथमिक तहमा ९ हजार ५३७, निम्न माध्यमिक तहमा १ हजार ८७४ र माध्यमिक तहमा १ हजार ६०२ दरबन्दी छन्। मधेशमा सप्तरीमा १ हजार ८०७, सिरहामा १ हजार ७४६, धनुषामा १ हजार ८१७, महोत्तरीमा १ हजार ४८६, सर्लाहीमा १ हजार ६८२, रौतहटमा १ हजार ४१५, बारामा १ हजार ५८४ र पर्सामा १ हजार ४७६ दरबन्दी रहेका छन्।
बागमती प्रदेशका १३ जिल्लामा कुल २१ हजार ७५२ शिक्षक दरबन्दी कायम गरिएको छ। यसमा प्राथमिक तहका १५ हजार ७०५, निम्न माध्यमिक तहका ३ हजार २४४ र माध्यमिक तहका २ हजार ८०३ दरबन्दी छन्। बागमतीमा काठमाडौँमा सबैभन्दा धेरै ३ हजार ५७८ दरबन्दी रहेको छ भने रसुवामा सबैभन्दा कम ४४७ दरबन्दी छन्। काभ्रेपलाञ्चोकमा २ हजार २९५, चितवनमा २ हजार ४०७, धादिङमा १ हजार ६४२, नुवाकोटमा १ हजार ५५९ र ललितपुरमा १ हजार ५६७ दरबन्दी कायम छन्।
गण्डकी प्रदेशका ११ जिल्लामा कुल १७ हजार ७२६ शिक्षक दरबन्दी रहेका छन्। त्यसमध्ये प्राथमिक तहमा १२ हजार ८२२, निम्न माध्यमिक तहमा २ हजार ७११ र माध्यमिक तहमा २ हजार १९३ दरबन्दी छन्। गण्डकीमा तनहुँमा २ हजार ६६५, स्याङ्जामा २ हजार ५८९, कास्कीमा २ हजार ३९० र गोरखामा २ हजार ७२ दरबन्दी रहेका छन्। मनाङमा भने १९२ दरबन्दी मात्रै कायम गरिएको छ।
लुम्बिनी प्रदेशका १२ जिल्लामा कुल १६ हजार ५२२ शिक्षक दरबन्दी छन्। तीमध्ये प्राथमिक तहमा १२ हजार २४६, निम्न माध्यमिक तहमा २ हजार ३३४ र माध्यमिक तहमा १ हजार ९४२ दरबन्दी रहेका छन्। लुम्बिनीमा पाल्पामा २ हजार १६४, रूपन्देहीमा २ हजार ८७, गुल्मीमा २ हजार ११ र दाङमा १ हजार ७४० दरबन्दी कायम गरिएको छ। रुकुम पूर्वमा भने ३३८ दरबन्दी रहेको छ।
कर्णाली प्रदेशका १० जिल्लामा कुल ७ हजार ७२२ शिक्षक दरबन्दी कायम छन्। यसमध्ये प्राथमिक तहमा ६ हजार २८, निम्न माध्यमिक तहमा १ हजार १६ र माध्यमिक तहमा ६७८ दरबन्दी छन्। कर्णालीमा सुर्खेतमा सबैभन्दा धेरै १ हजार ५९८ दरबन्दी रहेको छ। सल्यानमा १ हजार ७८, दैलेखमा १ हजार ७७, जाजरकोटमा ७८१, रुकुम पश्चिममा ६६५ र कालिकोटमा ६०४ दरबन्दी छन्।
सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा कुल ९ हजार ६४६ शिक्षक दरबन्दी रहेको छ। प्रदेशमा प्राथमिक तहमा ७ हजार २००, निम्न माध्यमिक तहमा १ हजार ४३९ र माध्यमिक तहमा १ हजार ७ दरबन्दी छन्। कैलालीमा १ हजार ४१६, बैतडीमा १ हजार २९७, कञ्चनपुरमा १ हजार २१७, दार्चुलामा १ हजार २४ र अछाममा १ हजार ७३ दरबन्दी कायम गरिएको छ।
यसैगरी बझाङमा १ हजार ६५, डोटीमा ९६१, डडेलधुरामा ८४७ र बाजुरामा ७४६ शिक्षक दरबन्दी रहेको विभागले जनाएको छ।
विभागको तथ्यांकअनुसार प्रदेशगत रूपमा शिक्षक दरबन्दीको संख्या फरक–फरक रहेको छ। विद्यालय तहमा शिक्षक जनशक्तिको उपलब्धता, दरबन्दी वितरण तथा आवश्यकता पहिचानका लागि सार्वजनिक गरिएको यो विवरणले जिल्लागत रूपमा शिक्षक दरबन्दीको अवस्थासमेत स्पष्ट पारेको छ।