काठमाडाैँ- राष्ट्रिय परीक्षा बाेर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा प्रणालीमा सुधार गर्न आवश्यक रहेकाे बताएका छन्। शिक्षालय मासिकले आयोजना गरेकाे एसईई परीक्षा विषयक गोष्ठी तथा फेकाका नवनिर्वाचित कार्यसमितिलाई वधाई कार्यक्रममा बाेल्दै अध्यक्ष शर्माले एसईई परीक्षाको आवश्यकताबारे स्पष्ट पारेका हुन्।
विश्वका विभिन्न मुलुकमा विद्यार्थीकाे कक्षा १० काे मूल्याङ्कनमा भएका अभ्यासका बारेमा स्पष्ट पार्दै अध्यक्ष शर्माले कक्षा ११ र १२ काे पाठ्यक्रमले नै कक्षा १० मा मूल्याङ्कन गर्ने परीक्षाकाे कल्पना गरेकाे बताए। उनले भने,' बाेर्डले परीक्षा लिन मरिहत्य गरेकाे त हाेइन तर हाम्राे परिवेश अनुसार सार्क मुलुकमा पनि सबैले परीक्षालाई लिइरहेका छन्। हाम्राे व्यवस्थालाई हाम्राे परीक्षा प्रणालीलाई सुधार गर्नुपर्ने आवश्यकता छ।'
कार्यक्रममा शिक्षा पत्रकार प्रकृति अधिकारीले गुरुकुल शिक्षा देखि आधुनिक शिक्षा वि.सं. १९९० मा दरवार स्कुल स्थापना भएको ऐतिहासिक दस्तावेजको तथ्याङ्ग सहित एसईई परीक्षा जस्ता विषयहरु समेटेर कार्यपत्र प्रस्तुत गरेका थिए।
कार्यक्रममा लालिगुराँस स्कुलका प्रिन्सिपल विनोद देवकोटाले परीक्षाको महत्वबारेमा प्रकाश पार्दै परीक्षाको कारणले किशोरकिशोरीहरु कुलतवाट बचेको बताएका थिए।
यस्तै कार्यक्रममा प्रोजेक्ट पोसिवल नेपालका सिईओ विजेन्द्र प्रधानले एसईई परीक्षाको फाइदा र वेफाइदाका वारेमा चर्चा गर्नु गरेका थिए।
कार्यक्रममा नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ (निस्टा)का अध्यक्ष भोला चालिसे, अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारी, काठमाण्डौँ प्याब्सनका बरिष्ठ उपाध्यक्ष नवराज भट्ट, हिसानका केन्द्रिय उपाध्यक्ष रामहरी सिलवाल, प्याब्सनका केन्द्रिय उपाध्यक्ष दीपिका रिमाल थापा, शिक्षा मन्त्रालयका उपसचिव गेहनाथ गौतम लगायतले एसईई परीक्षाको आवश्यकताबारे चर्चा गरेका थिए।
कार्यक्रममा फेकाको नव निर्वाचित कार्य समितिलाई सम्मान गरिएकाे थियाे।
![](https://www.edusawal.com/uploads/editor/2023-10-11/042833702see e.jpg)
![](https://www.edusawal.com/uploads/editor/2023-10-11/042755299program.jpg)